
चितवनः अस्पतालमा बिरामीहरुको चाप बढे संगै भरतपुर अस्पतालले सेवा बिस्तार गरेको छ । नीजि अस्पतालहरुमा सेबा शुल्क बढि हुने भए पछि सरकारी अस्पतालमा बिरामीको आकर्षण वढेको हो ।
अस्पतालमा डायलायसिस गर्नुपर्ने मृगौलाका बिरामीहरुको चाप वढे पछि आजबाट चौविसैं घण्टा सेवा सुरु गरिएको छ । बिहान देखि साँझ सम्म डायलायसिस गर्दा बिरामीले पालो नपाए पछि सेवा बिस्तार गरिएको हो ।
सेवा बिस्तार गर्दै अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले पालो कुर्ने बिरामीको संख्या वढेपछि आजबाट रात्रीकालिन सेवा सुरु गरिएको बताउनुभयो । सो अवसरमा उहाँले हाल ६९ जनाले नियमीत डायलायसिस गरिरहेको बताउनु भयो । जसमा ३० जना पुरुष र ३९ जना महिला रहेको बताउनु भयो । अरु थप ५० जना बिरामीले पालो कुरी रहेकाले रात्रीकालिन सेवा सुरु गरिएको उहाँले बताउनुभयो ।
सो अवसरमा अस्पतालको मेडीसीन बिभाग प्रमुख डा. प्रकाश खतिवाडा, डायलायसिस बिभाग प्रमुख सुनिता आचार्य लगायले अस्पतालमा मुत्ररोग बिशेषज्ञको व्यवस्था हुन सकेमा बिरामीले थप सेवा पाउनेमा जोड दिनुभयो । भरतपुर अस्पतालमा डायलायसिस सेवा नीजिको भन्दा उत्कृष्ठ भए पछि बिरामीको पहिलो रोजाई यहाँ हुने गरेको छ । जसका कारण बिरामीको संख्या दिनानुदिन वढ्दै गएको छ ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालमा बि. सं. २०७४ भाद्र ११ गतेबाट निशुल्क रुपमा डायलायसिस सेवा सुरु गरिएको हो । गत आर्थिक वर्षमा ६ हजार १ सय पटक र चालु आर्थिक वर्षको ६ महिनामा ३ हजार दुई सय ३० पटक बिभिन्न बिरामीहरुको डायलायसिस गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा रहेका १२ वटा डायलायसिस उपकरणहरु मध्ये १० वटा संञ्चालनमा रहेका छन् ।
सरकारले मृगौलाको डायलायसिस सेवा निशुल्क गरेको छ । भरतपुर अस्पताल केन्द्रिय अस्पताल हो । यहाँ चितवन सहित १९ भन्दा वढि जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछ ।