नदिमा भाले घडीयालको अभाव हट्यो

चितवनः चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदीमा देखिएको घडियाल भाले गोहीको अभाव हटेको छ । नवलपरासी क्षेत्रमा एउटा भाले गोही जालमा परेर मरेपछि तीन वर्ष अघि बबई नदीबाट एउटा भाले गोही यहाँ ल्याईएको थियो । त्यतिबेला दुवै नदीमा भाले गोही नभएपछि बर्दियाबाट ल्याईएको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार गत साता गरिएको सर्वेक्षणको क्रममा तीन वटा भाले गोही देखिएका छन् । गत वर्ष देखिएका दुई वटा भाले गोही अनुगमनको क्रममा बाहिर नदेखिएको भए पनि ती गोही पनि यिनै नदीमा भएको अनुमान गरिएको छ । खड्काले सन् २०१७ को डिसेम्बरमा बबईबाट ल्याईएको भाले गोही भेलौजी क्षेत्रमा भेटिएको जानकारी दिनुभयो ।

हाल देखिएका तीन वटा भाले गोही मध्ये एउटा सानो र दुई वटा केही ठूला रहेका छन् । ती भाले मध्ये एउटा राप्ती दोभान गोलाघाटमा, राप्तीको दुधौरा र अर्काे भेलौजीमा भेटिएको हो । नदीमा कम्तीमा पाँच वटा भाले गोही रहेको अनुमान गरिएको खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो “प्राकृतिक बासस्थानका लागि यी भाले गोहीले पर्याप्त हुन्छ ।” यद्यपी त्रिवेणी ब्यारेजबाट भारततर्फ जान सक्ने खतरा भएको उहाँको भनाई छ । खड्काको टोलीले ११ दिन लगाएर नारायणी, राप्ती र तिनका भंगलाको करिब दुई सय किलोमिटर क्षेत्रमा सर्वेक्षण गरेको थियो ।

विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन् केन्द्रमा हुर्काएर विभिन्न नदीमा हाल सम्म १ हजार ४ सय ६५ वटा गोही छाडी सकिएको छ । जस मध्ये राप्तिमा मात्र ७ सय ८५ गोही छाडीएको छ ।

निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । पछिल्ला वर्षहरुमा राप्ती र नारायणीमा मात्रै गोही छाडिने गरिएको छ । नदीहरुमा गोही छोड्दै गए पनि संख्या वढ्दै जान भने सकेको छैन । पछिल्लो गणना अनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।

सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदुषण बन्दै जाँदा संकटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिंदै गएको छ । हरेक वर्ष यी दुई नदी किनारबाट गोहीको अण्डा संकलन गरी प्रजनन् केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ । गोहीको भाले पोथी पहिचान हुन २० वर्ष लाग्ने गर्दछ । प्राकृतिक रुपमा नै भाले कम जन्मिने गर्दछन् ।