
चितवनः जिल्लाका प्रदेश कार्यालयहरुमा बिकासका लागि बिनियोजन गरिएको बजेट ६ महिनामा ५ दशमलब १० प्रतिशत मात्र खर्च भएको छ । संघिय कार्यालयहरुको पनि बिकास खर्च निरासा जनक रहेको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका सूचना अधिकारी शरदचन्द्र भट्टराईका अनुसार प्रदेश सरकारबाट जिल्लाका सरकारी कार्यालयहरुमा बिनियोजन गरिएको बजेट रु ३ अर्ब २३ लाख ४ हजर मध्ये पूजीगत तर्फ रु २ अर्ब १६ करोड ५३ लाख ३ हजार बजेट रहेको छ । पुष मसान्त सम्ममा ५ दशमलब १० प्रतिशत मात्र खर्च भएको भट्टराईले जानकारी दिनुभयो ।
प्रदेश सरकारको बजेटको चालु तर्फ पनि खर्च न्यून रहेको छ । गत ६ महिनामा चालु तर्फ १८ दशमलब ४६ प्रतिशत मात्र खर्च भएको छ । चालु तर्फको बजेट रु ८३ करोड ७० लाख १ हजार रहेको छ ।
त्यस्तै संघीय सरकारले बिकासका लागि बिनियोजन गरेको बजेटको खर्च ६ महिनामा २० दशमलब ७० प्रतिशत मात्र रहेको छ । भट्टराईका अनाुसार संघिय सरकारको रु १५ अर्ब ८३ करोड २२ लाख ८८ हजार बजेट मध्ये पूजीगत खर्च तर्फ रु ५ अर्ब ६७ करोड ७३ लाख रहेको छ । जसको २० दशमलब ७० प्रतिशत मात्र खर्च भएको हो ।
चालु तर्फ रु १० अर्ब १५ करोड ४९ लाख ८५ हजारको ४८ दशमलब ३५ प्रतिशत मात्र खर्च भएको छ । भट्टराईका अनुसार पुष मसान्त सम्ममा संघीय तर्फ रु १५ अर्ब ४५ करोड २८ लाख ८८ हजार र प्रदेश तर्फ रु ३३ करोड २९ लाख ८५ हजार राजस्व संकलन भएको छ ।
प्रदेश र संघीय सरकारको बिकासका आयोजनाहरुको बोलपत्र आव्हान गर्ने, बिस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने जस्ता काम भईरहेकाले खर्च कम भएको जनाईएको छ । यद्यपी सुरुका महिनाहरुमा काम नहुने र आर्थिक बर्षको अन्तिममा हतारमा काम हुने जनगुनासो रहने गरेको छ ।