चितवनः पूर्बी चितवनको खैरहनीमा सातौं खिचरा महोत्सव हुने भएको छ । यही २०७६ यही पुस २७ गतेबाट “राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान” भन्ने मूल नाराका साथ खैरहनी नगरपालिका वडा नं. ५ गौचरन मा महोत्सव हुन लागेको हो ।
महोत्सव मूल आयोजक समितिले बुधबार खैरहनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा थारु जातिको कला, संस्कृति संरक्षण गर्नु नै महोत्सवको मुख्य उद्देश्य रहेको प्रष्ट्याईएको थियो ।
पत्रकार सम्मेलनमा महोत्सवका संयोजक चुडामणि चौधरीले यस वर्षको महोत्सव विगतकोभन्दा परिस्कृत हुने जानकारी दिनुभयो । थारु समुदायको कला, संस्कृति, भेषभुषा प्रबद्र्धन गर्न महोत्सव महत्वपूर्ण ब्राण्ड बनेको उहाँले बताउनुभयो ।
महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रबद्र्धन, स्थानीय कला, संस्कृतिको प्रबद्र्धन, स्थानीयस्तरमा उत्पादित वस्तुको प्रबद्र्धन गराउन १५० भन्दा बढी स्टर रहने जनाईएको छ । महोत्सव स्थलमा जारु जातिका साथसाथै विभिन्न जातिका खानाका परिकार रहने छन् । यस्तै शैक्षिक, वित्तिय संस्था, विभिन्न संघ संस्थाहरुका समेत स्टल रहने छन् ।

थारु समुदाययको ब्रम्हस्थान, परेवाको घर, परम्परागत सामग्रीहरु सहितको थारु मिनी गाउँ महोत्सव परिसरमा रहने छ । थारुको मुख्य परिकार घोङी र पोकाको विशाल मूर्ति महोत्सवस्थलमा रहने चौधरीले जानकारी दिनुभयो । सो अवसरमा थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य राजेन्द्र चौधरीले थारु समुदायको कला–संस्कृति हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै माघी मेलालाई महोत्सवको रुपमा मनाईदै आएको बताउनुभयो ।

थारु कल्याणकारी सभा चितवनका जिल्ला अध्यक्ष ललित चौधरीले महोत्सव थारु समुदायको मात्रै नभई समग्र चितवनवासीको भएको बताउँनुभयो । उहाँले सबै मिलेर राष्ट्रको अमूल्य सम्पदा थारु संस्कृतिलाई जोगाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महोत्सव अतिथि सत्कार समितिका संयोजक चन्द्रकुमारी चौधरीले स्वागत गर्दै सबै मिलेर महोत्सव सफल बनाउनु पर्ने बताउनुभयो । सो अवसरमा थारु अगुवा वासु चौधरीले थारु समुदायले परम्परागत रुपमा प्रयोग गर्दै आएका घोगी र अनादीको धान विस्तारै हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

थारु कल्याणकारी सभा क्षेत्र नं. ७ खैरहनी चितवनले आयोजना गर्ने महोत्सव माघ ८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा बाल उद्यानका साथै स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहने छ ।

यसैबीच थारु संस्कृति र परम्परा हराउँदै गएकोप्रति अगुवाहरुले चिन्ता व्यक्त गर्नुभएको छ । थारु अगुवा वासु चौधरीले धान खेतमा पाईने घोङी विस्तारै लोप हुँदै गएको बताउनुभयो । न्युजभित्तोसँग कुराकानी गर्दै उहाँले घोङी र अनादीको धानको अब व्यवसायिक रुपमा खेती गर्नुपर्ने बताउनुभयो । कतिपय विदेशी राष्ट्रहरुमा व्यवसायिक रुपमा यसको खेती हुँदै आएको बताउँदै उहाँले भन्नुभयो “घोङी अब पोखरीमा उत्पादन गर्नुपर्छ ।” अनादीको धानको व्यवसायिक रुपमा उत्पादन गरी नेपालको परम्परागत बीऊ जगेर्ना गर्नुपर्ने उहाँले न्यूजभित्तोलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !