
चितवनः जिल्लामा पहिलो पटक शाखा रहित बैंकिङ् सेवा संञ्चालनमा आएको छ । सनराईज बैंक शाखा कार्यालय भरतपुरको सहयोगमा रत्ननगर नगरपालिका वडा नम्वर १४ पिठूवामा शाखा रहित बैंकिङ् सेवा सुरु गरिएको हो ।
टोलटोलमा बैंकिङ् सेवा पुर्याउने उद्धेश्यका साथ सेवा संञ्चालनमा ल्याईएको शाखाका प्रवन्धक अर्जुन अर्यालले जानकारी दिनुभयो । यस कार्यालय मार्फत खाता खोल्ने, पैसा जम्मा गर्ने, निकाल्ने, बिल भूक्तानी गर्ने, रिचार्ज गर्ने लगाएतका सेवाहरु प्रदान गरिने छ । पिठूवामा रहेको जनजागृती माध्यामिक विद्यालयको अगाडी संञ्चालन गरिएको शाखा रहितको बैंकिङ् सेवा स्थानीय नारायण कुवरलाई प्रदान गरिएको हो ।
रत्ननगर नगरपालिकाका वडा नम्वर १४ का वडा अध्यक्ष हरिकुमार श्रेष्ठ प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा वैंकका प्रदेश नम्वर तीनका प्रतिनिधि अच्यूतजंग श्रेष्ठले सो सेवाका लागि प्रविधि कुवरलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष श्रेष्ठले यस सेवाले सरकारको गाउँगाउँमा बैंकिङ् सेवा पुर्याउने योनालाई सहयोग पुगेको बताउनुभयो । यस क्षेत्रमा शाखा कार्यालयकै आवश्यक रहेको उहाँको भनाई थियो । सो अवसरमा बैंकको नारायणगढ शाखा, टाँडी शाखाका प्रमुखहरुको सहभागीता रहेको थियो ।
स्थापनाको १२ औं वर्ष पार गरेको वैंकको अहिले देशभर १ सय २६ वटा शाखा कार्यालय, १ सय ४९ वटा एटिम सेवा र ४० वटा शाखा रहित बैंकिङ् सेवा रहेको छन् । कार्यक्रम भरतपुर शाखाका प्रमुख अर्जुन अर्यालको अध्यक्षतामा भएको थियो ।