चितवनः मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि जिल्लाका तीनवटा वडामा निर्वाचन हुँदै छ । भरतपुर महानगरपालिका वडा नम्वर १६ मा पाँच जना, खैरहनी नगरपालिका वडा नम्वर ४ र ५ मा चार÷चार जना उम्मेदवार रहेका छन् ।

पाँच राजनैतिक दल चुनाबी प्रतिस्पर्धामा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, राप्रपा संयुक्त, समाजवादी पार्टी र राष्ट्रिय नागरिक पार्टी चुनावी मैदानमा रहेका छन् ।

भरतपुर महानगरपालिका वडा नं. १६ मा राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तराज हमाल, राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठी, समाजवादी पार्टीका अम्बरबहादुर थापा र नेपाली कांग्रेसका अमृतराज हमालले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ ।

त्यसैगरी खैरहनी ४ मा नेपाली कांग्रेसका देवप्रसाद बस्नेत, राप्रपाका अनुज अधिकारी, नेकपाका बेदबहादुर अधिकारी र राप्रपा संयुक्तका सीताराम थापाले मनोनयन दर्ता गराउनु भएको हो ।

खैरहनी ५ मा राष्ट्रिय नागरिक पार्टीका बलराम चौधरी, समाजवादी पार्टीका बिकन महतो थारु, नेपाली कांग्रसका प्रतिमा कार्की र नेकपाका पुननारायण प्रधानले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ ।
सवैले मनोनय दर्ता गरि निर्वाचनमा हुमिएको समयमा काँग्रेस दुई तिहाईको तम्भ तोड्ने दाउमा रहेको छ भने नेकपा शाख जोगाउने पक्षमा रहेको छ । तर पहिलेको भन्दा अहिले राजनैतिक माहोल फेरीएको र नयाँ मतदाता समेत थपिएकाले कुन पार्टीको कोल्टामा वल पर्न जान्छ भन्ने विषय अन्योल रहेको छ ।

यस अघिको निर्वाचनमा भरतपुर १६ मा तत्कालिन नेकपा एमाले र खैरहनीका दुवै वडामा नेपाली काङ्ग्रेसले निर्वाचन जितेको थियो । भरतपुर १६ का वडा अध्यक्ष चतुर्मान गुरुङ्को क्यान्सर रोग र खैरहनीका वडा अध्यक्ष द्धय नरेन्द्र अधिकारी र विश्वविजय वस्नेतको सवारी दुर्घटनामा निधन भएको थियो ।

ती वडाहरुमा नेकपा र नेपाली काङ्ग्रेस बिचमा प्रतिस्पर्धा रहेको छ । नेकपा जिल्ला अध्यक्ष यमवहादुर परियारले अहिले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र विच एकता भएकाले तीनै स्थानमा आफ्नो जित हुने दावि गर्नुभयो । नेकपाले भरतपुर १६ मा उठाएका उम्मेदवार हमाल पूर्व शिक्षक हुनुहुन्छ भने खैरहनीका अधिकारी र प्रधान स्थानीय समाजसेवी हुनुहुन्छ ।

परियाले तीनवटै वडामा समिति निर्माण गरी प्रचार प्रसारको काम भईरहेको वताउनुभयो । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले तीन वटै वडामा काङ्ग्रेसले जित हाँसिल गर्ने दावि गर्नुभयो । खैरहनीका दुवै वडा यस अघि काङ्ग्रेसले जितेको र भरतपुरमा झिनो मतले पराजित भएका व्यक्ति उम्मेदवार रहेका छन् । सभापति श्रेष्ठले अहिलेको सरकार र यहाँको जनप्रतिनिधिबाट जनअपेक्षा अनुसार काम नभएकाले काङ्ग्रेसका पक्षमा मत आउने दावि गर्नुभयो । काङ्ग्रेसले भरतपुर १६ मा यस अघि पराजित भएका हमाल, खैरहनी ४ मा कार्यवहाक भएर काम गर्दै आएका वडा सदस्य वस्नेत र ५ मा मृत्यु भएका वडा अध्यक्षको श्रीमती कार्कीलाई उम्मेदवार वनाएको छ । तीवटै वडामा समिति वनाएर प्रचार प्रसारलाई तिव्रता दिईएको छ ।

दलहरुले आवश्यकता अनुसार जिल्ला र केन्द्रका नेता डाकेर प्रचार अभियान अगाडी वढाएका छन् । यस अघिको निर्वाचनमा भरतपुर १६ मा नेकपा एमालेले २ हजार १ सय ३२, नेपाली काङ्ग्रेसले २ हजार ६८, माओवादी केन्द्रले ९ सय ८९, राप्रपाले ६३, राष्ट्रिय जनमोर्चाले १२, नयाँ शक्तिले ११ र स्वतन्त्र उम्मेदवारले ९ मत प्राप्त गरेका थिए ।

यस्तै खैरहनी ४ मा नेपाली काङ्ग्रेसले ७ सय ३५, नेकपा एमालेले ६ सय ७१, माओवादी केन्द्रले ३ सय ८६ र राप्रपाले २६ मत प्राप्त गरेका थिए । खैरहनी ५ मा नेपाली काङ्ग्रेसले ६ सय २७, नेकपा एमाले ३ सय ९८ माओवादी केन्द्र २ सय ७३, राप्रपा १२,राष्ट्रिय जनमोर्चा ७ र नयाँ शक्तिले १३ मत पाएका थिए ।
यसरी मत परिणाम हेर्दा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकता संगै काँग्रेसलाई निर्वाचन जित्नकालागि निकै सकस देखिएको छ । पहिला काँग्रेसले जित हात पारेको खैरहनी नगरपालिकाका दुई वटा वडा मध्ये वडा नम्वर पाँचमा नेकपा दुई पार्टी एक हुँदा समेत झिनो मतअन्तरले अगाडी रहेको छ भने अन्य वडाहरुमा नेकपाको राम्रो अन्तर देखिएको छ ।
तर स्थानीय तहको निर्वाचनका समयमा अन्य दलहरुलाई गएको मत कुन पार्टीलाई आउँछ भन्नेमा दुवै पाटीले अन्दाज गर्न सकेका छैनन् । यो संगै थपिएका नयाँ मतदाताको भावना कता जन्छ भन्नेमा पनि विश्वस्त रहेका छैनन् निर्वाचनमा हुमिएका दल र तीनका उम्मेदवारहरु ।
अहिलेको निर्वाचनमा काँग्रेस चितवन अहिले स्थानीय सरकार देखि तीन सरकारले काम गर्न नसकेको भन्दै मत माग्दै घरदैलोमा पुगेको छ भने नेकपा काम गर्ने समय अव आएको भन्दै घर दैलोमा पुगेको छ ।
केन्द्रीय सरकारको पनि वेला वखतमा हुने गरेको टिक्का टिप्पणीका कारण कतै निर्वाचन हारीनेत होइृन भन्ने विषयमा नेकपा चितवन शशकित वनेको छ । जिल्लाका विभिन्न संघ संस्थामा भएका निर्वाचनका क्रममा नेकपाले पाएको ठक्करलाई अनुमान लगाउँदै जिल्लाको राजनैतिक वृत्तमा चर्चा परिचर्चा भईरहेको छ ।
जिल्ला निर्वाचन अधिकारी हरि ढकालका अनुसार जिल्लामा ६ वटा मतदान स्थल र १५ वटा केन्द्र तय गरिएको छ । मतदान केन्द्रका लागि ७५ जना जिल्लाबाट कर्मचारी र केन्द्रमा ६० जना स्वयमंसेवक नियुक्त गरिनेछ ।

ढकालका अनुसार भरतपुर महानगरपालिका वडा नम्वर १६ मा ८ हजार ४ सय ८१, खैरहनी नगरपालिका वडा नम्वर ४ मा २ हजार ६ सय ९२ र वडा नम्वर ५ मा २ हजार १ सय ११ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !