
चितवनः सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भईरहेको रिभर क्रुजसिप (मिनि पानीजहाज)को परीक्षण यात्रा (टेष्ट ड्राईभ) यहि महिनामा गरिने भएको छ । नोभेम्वर भित्र व्यवसायीक रुपमा संञ्चालन गर्ने तयारी गरिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्वर १६ को ज्ञानेश्वर सामुदायीक वन संगै नारायणी नदी छेउमा क्रुज निर्माण कार्य भईरहेको छ । क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार क्रुजको वाहिरी भागमा सिसा राख्न मात्र वाँकी रहेको छ । ईन्जिन जडान भईसकेको छ । भित्रि भागमा कुर्चि, टेवल, भान्छा, वार वन्ने क्रममा रहेको छ । शौचालय लगाएतका अन्य निर्माणका कामपनि सम्पन्न भएको छ ।
विदेशी प्राविधिक टोलि आउँदै गरेको भन्दै उहाँले यहि कात्तिक महिनाको मसान्त सम्ममा परिक्षण यात्रा गरि नोभेम्वर भित्र व्यवसायीक संञ्चालन गर्ने तयारी गरेको वताउनुभयो । क्रुजको उद्घाटनका लागि प्रधानमन्त्री केपि शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र शेरवहादुर देउवालाई निमन्त्रणा गरिने वताउनु भयो । अनौपचारीक रुपमा भेट गरेर आग्रह गरिसकेको भन्दै उहाँले समय निर्धारण भए पछि तीनै जना नेतालाई औपचारीक निम्ता गरि क्रुजको उद्घाटनको तयारीमा लागेको कंडेलले जानकारी दिनुभयो ।
क्रुजको भुईतल्लामा ९० जना, पहिलो तल्लामा १ सय जना वस्न मिल्ने सिट रहने छन् । कंडेलका अनुसार पहिलो तल्लाको अगाडी पट्टि र दोस्रो तल्लाको खुल्ला ठाउँमा १५ जना उभिन मिल्ने छ भने पहिलो तल्लामा १० वटा विशिष्ट व्यक्तिका लागि कुर्चि राखिने छ । क्रुज १ सय फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ ।
क्रुजमा बिहानको खाजा खाँदै नदीमा सयर गर्न चाहनेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन् । अपरान्ह खाना नै क्रुजमा खाँदै रमाउन चाहनेका लागि लञ्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुने कँडेलले बताउनु भयो ।
प्रत्येक क्रुजिङ्ग करिब ३ घण्टाको हुनेछ । काभ्रेघाटदेखि सुरु यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलो मिटरको दुरी रहेको यो जलयात्राका लागि बाटोको समेत अध्ययन भईसकेको छ ।
क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्व तयारी गरिरहेको कँडेलले बताउनुभयो । क्रुजसिपको सञ्चालनका लागि आवश्यक क्रिउ मेम्बर र प्राविधिक हाललाई बिदेशी हुनेछन् । दिर्घकालिन रुपमा नेपाली जनशक्ति नै उत्पादन गर्नको लागि आवश्यक तालिम केन्द्र सञ्चालन गर्ने कँडेलले बताउनु भयो ।
क्रुज जल प्रवाहको मापन, प्रकोपका चुनौतीहरुको अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन पश्चात नर्वेजियन प्रबिधिको प्रयोगबाट भारतीय प्राबिधिकहरुको सहयोगमा नारायणी नदी किनारमै निर्माण गरिएको हो । क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरिरहेको छ । क्रुजमा दुई वटा इञ्जिन रहने छन् । क्रुजको गति प्रति घण्टा ३५ किलो मिटर हुने छ ।
क्रुज निर्माण गतवर्षको चैतबाट थालिएको हो । यो निर्माणका लागि १५ फिट गहिरो पोखरी निर्माण गरिएको छ । क्रुजको अघिल्लो भागमा एक सिंगे गैंडाको टाउकोको आकृति हुनेछ । क्रुज निर्माणका लागि रु १५ करुोड हाराहारी खर्च हुने जनाईएको छ ।