चितवनः रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विपन्न समुदायको भान्सामा सुधारिएको चुलो निर्माण गर्ने कार्यक्रम सहित वजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७६÷७७ का लागि रु १ अर्व ५ करोड ३२ लाख बरावरको वजेट आज सार्वजनिक गरेको छ ।
सो अवसरमा प्रमुख नारायण वनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । साथै नगरपालिकाले नगरवासीले अनुभूति गर्ने गरी टाँडी बजार र सौराहाचोकमा आकासे पुल र एक वडा एक पुस्तकालय निर्माण गरिने उल्लेख छ । नीति तथा कार्यक्रममा पर्यटकीय पूर्वाधारका रूपमा सौराहा क्षेत्रमा आधुनिक पर्यटन वसपार्क, पर्यटन सुचना केन्द्रको निर्माण, “नगर प्रमुखसँग उद्यमशिलता विकास” कार्यक्रम संचालन गरिनेछ ।
नगरपालिकामा सम्भावनाको क्षेत्रको रूपमा रहेको कृषि क्षेत्रको विकासमा विशेष ध्यान दिदैं एक अत्याधुनिक शीत भण्डार निर्माण,“कृषि सूचना प्रणाली केन्द्र” को स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । जेष्ठ नागरिकलाई दैलोमा नै उपचार कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने छ । गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यमा विशेष ध्यान दिदै “पूर्ण सुरक्षित मातृत्व प्राप्त नगरपालिका” र “कुपोषण मुक्त नगरपालिका ”निर्माणका लागि आवश्यक श्रोत साधनको व्यवस्थापन गरिने वनले जानकारी दिनुभयो । मानव र वन्यजन्तु बिचको सम्बन्धमा समायानुकुल सुधारका लागी सिमानामा पक्की पर्खाल तथा तारजाली लगाउने र जंगल सिमाना सग जोडिएका बस्तीका बिशेष गरी वडा नं. ५, ६, ७, ८, ९ र ११ बासिन्दालाई जीवनबिमा गरिनेछ ।
नगरबासीहरुको खरको छानो ब्स्थिापित गरी टिनको छानो,सौचालय नहुने नगरबासीलाई सौचालयको व्यवस्था गर्ने,गरिब र बिपन्न घरधुरीलाई सुधारिएको चुल्हो वितरण गर्ने,सबै वडामा एकिकृत पुस्तकालय, खोपकेन्द्र र पार्कको व्यवस्था गरिने नीति तथा कार्यक्रममा जनाईएको छ । स्वास्थ्यको क्षेत्रमा बृद्धबृद्धा, आर्थिक स्थिति कमजोर भएका गर्भवति महिलालाई सुत्केरी हुन अस्पताल लैजादा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने वनले बताउनु भयो ।
पाँचौ नगर सभामा उपप्रमुख विमलादेवी दुवाडीले बजेट प्रस्तुत गर्नु भएको हो । वजेटमा नेपाल सरकारबाट शशर्त अनुदान रु २८ करोड २० लाख, समानिकरण अनुदान रु १९ करोड १३ लाख, राजस्व वाँडफाँडमा रु. ११ करोड ६९ लाख, प्रदेश सरकारबाट समानिकरण अनुदान रु १ करोड १० लाख,शशर्त अनुदान रु ४ करोड ९६ लाख,राजस्व वाँडफाँडमा रु३ करोड ३१ लाख,सामाजिक सुरक्षा रु २० करोड हुने अनुमान छ ।
त्यस्तै समपुरक अनुदान रु २ करोड, विषेश अनुदानमा रु. २ करोड, सडक वोर्डबाट रु ८० लाख,प्रधानमन्त्री रोजगारी कार्यक्रमबाट रु ५० लाख गरी कुल १ अर्व ५ करोड रुपैयाको वजेट रहने उपप्रमुख दुवाडीले जानकारी दिनु भयो । क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ रु १ करोड २५ लाख,सामाजिक विकासमा रु १ करोड ९३ लाख, संस्थागत विकास तथा सुशासनमा रु ३७ लाख,वातावरण तथा विपद व्यवस्थापनमा रु ८७ लाख, पूर्वाधार विकासमा रु ८ करोड ६७ लाख रहेको छ ।