चितवनः भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ केयर फाउण्डेसन एएचएफले यहाँका बिद्यार्थीहरुलाई एड्स सम्बनिध सचेतना सुरु गरेको छ । जस अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको सिद्धिबिनायक माध्यामिक बिद्यालयका बिद्यार्थीलाई एचआईभि एड्स सम्बन्धित सचेतना जगाईएको हो ।
भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले कक्षा ९, १०, ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुलाई एड्स संग सम्बन्धित बिषयमा जानकारी दिनुभएको थियो । उहाँले एचआईभि एड्स कसरी सर्छ, यो कस्तो रोग हो र संक्रमणबाट बाँच्न के गर्न सकिन्छ भन्ने बिषयमा जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो “१५ वर्ष देखि १८ वर्षको उमेरमा हुने शारिरिक बृद्धि र मानसीक बृद्धिका कारण हुनसक्ने जोखिमका बारेमा समेत ज्ञान दिने गरेका छौ ।”
बिद्यालयका ६३ जना बिद्यार्थी शिक्षक तथा कर्मचारीलाई यस रोग सम्बन्धि जानकारी गराईएको थियो । लैङ्गिक एबं किशोर अधिकार सम्बन्धि ज्ञान समेत प्रदान गरिएको थियो । एचआईभि रोगको संक्रमण जोखिम रहेका क्षेत्रमा भएका बिद्यालयहरुमा यस्ता कार्यक्रमहरु संञ्चालन गर्दा संक्रमणबाट बचाउन सकिने उहाँको भनाई छ । जिल्लामा हाल सम्म ८७९ जना एचआईभि एड्स संक्रमित खुलेर नियमित औषधि सेवन गर्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार यस केन्द्रबाट हाल १ हजार २७२ जना संक्रमितले औषधि सेवन गर्ने गरेका छन् । जस मध्ये नवलपरासीका २७४ जना, मकवानपुरका २५ जना, तनहुँका ३३ जना, गोरखाका ३० जना र अन्य जिल्लाका ३१ जनाले यस केन्द्रबाट नियमित औषधि सेवन गर्दै आएका छन् ।
संक्रमित मध्ये सबैभन्दा धेर यौन व्यावसायीका ग्राहक रहेका छन् । अहिले औषधि खानेमा यो समुदायका ३१ प्रतिशत रहेका छन् । यस्तै अस्थायी बसोबास गर्ने श्रीमान श्रीमती २२ प्रतिशत, यौन कर्मी १७ प्रतिशत, गृहिणि ११ प्रतिशत, बसाई सरी आएका १० प्रतिशत, तेस्रो लिङ्गी तथा यौनिक अल्पसंख्यक ७ प्रतिशत, लागुऔषध प्रयोग कर्ता २ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । बाँकी अन्य बिभिन्न समुदायका रहेको उहाँले बताउनुभयो ।





