चितवनः मौरी पालन बिकास कार्यक्रम भण्डाराले मौरीको रानो बितरण सुरु गरेको छ । यस वर्ष १ हजार २६० वटा मौरीको रानो बितरण गर्न लागिएको हो । कार्यालयले उत्पादन गरेको उन्नत जातको रानो मौरीपालक किसानलाई सहुलियत मूल्यमा बितरण सुरु गरिएको हो ।
कार्यालयका प्रमुख सुजन अंगाईका अनुसार अहिले सम्म ९५ जना किसानलाई ५१२ वटा रानो बितरण गरि सकिएको छ । जस मध्ये १३९ वटा रानो कार्यालयमा उत्पादन गरिएको हो भने ३७३ वटा रानो बिभिन्न मौरी फार्मबाट ल्याईयको हो । हरेक वर्ष कार्यालयले किसानहरुलाई उन्नत जातको रानो उत्पादन गरेर बितरण गर्दै आएको छ । सोही अनुसार यस वर्ष पनि बितरण गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “उन्नत जातको रानोको प्रयोगले मह उत्पादनमा बृद्धि हुने गर्दछ ।” उन्नत जातको मौरीको रानो प्रयोग गर्दा नश्ल सुधार भई मह उत्पादनमा बृद्धि हुने उहाँले बताउनुभयो । बिभिन्न कारणले रानो बुढो हुने, मर्ने, रोगी हुने, काम गर्ने क्षमता कमी भएर घार धान्न नसक्ने गर्दछ । सामान्य तय रानोको आयु ३ देखि ५ वर्ष भनिए पनि यहाँका किसानहरुले हरेक वर्ष रानो प्रतिस्थापन गर्ने गरेको उहाँले बताउनुभयो ।
यस संगै ग्राफ्टिङ्ग प्रबिधिबाट उन्नत जातको रानो उत्पादन सम्बन्धि तालिम समेत दिदैं आएको उहाँले जानकारी दिनुभयो । अहिले जिल्लाका १६ जना किसानलाई रानो उत्पादन सम्बन्धि तालिम दिई रहेको छ । किसानलाई रानो उत्पादन सम्बन्धि तालिम दिएपछि आफ्नै घरमा यो प्रबिधिको प्रयोग गरेर उन्नत जातको रानो उत्पादन गर्न सक्ने भएकाले मह उत्पादनमा बृद्धि हुने उहाँले बताउनुभयो ।
यस वर्ष कृतिम प्रबिधि (एआई)बाट मौरीका १० वटा रानो उत्पादन गरिएको छ । यस प्रबिधिबाट उत्पादन गरिएका रानो मध्ये ४ वटा मात्रै बाँच्न सफल भएको उहाँले बताउनुभयो । उहाँका अनुसार यस वर्ष एआई प्रबिधिबाट उत्पादीत रानो मध्ये १० वटा बचाउन सक्ने गरी उत्पादन थालिएको छ ।






