चितवनः यतिबेला रुघा खोकी लागेका बिरामीको संख्या बड्दै गएको छ । त्यसो त अन्य समयमा रुघा खोकी लागेमा दुई चार दिनमा निको हुने गरेकोमा यो वर्ष भने दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको हो ।
भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख फिजिसियन डा. प्रकाश खतिवडा हरेक तीन वर्षमा एन्फुञ्जाले आफ्नो रुप परिवर्तन गर्ने र बलियो भएर आउने बताउनुहुन्छ । हरेक तीन तीन वर्षमा यस्तै हुने गरेको भन्दै उहाँले अहिले निको हुन दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “रुघा खोकीसँगै घ्यारघ्यार भए निको हुन अरु बढी समय लाग्छ ।” खोकी, श्वाश्वा हुने जस्ता समस्या लिएर बिरामी आउने गरेको भन्दै उहाँले अझै एक महिना यस्तो समस्या रहने बताउनुभयो । दुई महिना यता यो समस्या बढी मात्रामा देखिएको हो ।
सरकारी अस्पताल, मेडिकल कलेजहरु र निजी अस्पताल एवं क्लिनिकहरुमा समेत समेत यस्ता बिरामीको चाप रहेको डा. खतिवडा बताउनुहुन्छ । उहाँले माक्सको प्रयोग गर्न, भिडभाडमा नजान सुझाव दिनुभयो ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ श्वास प्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा.डा शितल अधिकारी स्वासप्रश्वासका बिरामीमा अहिले बढी समस्या देखिएको बताउनुहुन्छ । रुघा खोकीसँगै अहिले देखिएको प्रदूषणले तत्कालिन रूपमा खोकी र श्वास फेर्ने समस्या बाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने र रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो “कोभिडले फोक्सोमा असर गरेका बिरामीहरूलाई प्रदूषण र रुघाखोकीले सामान्य अवस्थाभन्दा बढी जोखिममा पारेको छ ।” नियमित औषधि सेवन गर्नेहरूलाई समेत यस्तै अवस्था रहिरहे औषधिको मात्रा थप्नुपर्ने अवस्था आउँने उहाँले बताउनुभयो ।
विशेष गरी बालबालिका, वृद्ध, मुटु र मिर्गौलाका रोगीहरूलाई जोगाउनुपर्नेमा उहाँ जोड छ । हाल अस्पतालमा आउने बिरामीमध्ये धेरैलाई खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र कतिपयको खकारमा कालो र फोहोर मिसिएको जस्तो देखिने गरेको छ । रुघा खोकीसँगै देखिएको श्वासप्रश्वासको समस्या निको हुन समय लागेको उहाँ बताउनुहुन्छ ।
पुष्पाञ्जली अस्पतालका फिजिसियन डा. भोजराज अधिकारी आफूले मधुमेह, थाईराईड, उच्च रक्तचापका बिरामी धेरै हेर्ने गरेकोमा अहिले रुघा खोकी र श्वासप्रश्वासका बिरामीहरु धेरै आउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “दैनिक कम्तीमा १० जना श्वास नली बज्यो, छाती घ्यारघ्यार भयो, रुघा निको भएन भनेर आउनुहुन्छ ।” कतिपय भर्खरै निको भएको तर पुनः समस्या आयो भन्दै अस्पताल आउने गरेको उहाँले जानकारी दिनुभयो ।
यस्तो समस्या निको हुन धेरैलाई दुई हप्ता लागेको उहाँले बताउनुभयो । पहिले रुघा खोकी दुई तीन दिनमा निको हुने गरेको थियो । यसको कारण बदलिएको कोभिड पनि हुन सक्ने तर्फ उहाँले संकेत गर्नुभयो । इन्फुन्जा नेपालमा रहेको भन्दै उहाँले भन्नुभयो “रोग के कारणले लागेको हो भन्ने हामीकहाँ अध्ययन भएको छैन ।”
वायु प्रदुषण अर्काे कारण हुन सक्ने डा. अधिकारीको भनाई छ । अहिलेको समयमा विवाह, व्रतबन्ध, भोजभतेर जस्ता मानिसको भिड हुने कार्यक्रमहरु धेरै भएकोले पनि यो फैलिएको डा. अधिकारी बताउनुहुन्छ । यससँगै राजनीतिक समर्थन र विरोधका कार्यक्रमहरुमार्फत् पनि संक्रमण फैलिएको उहाँले बताउनुभयो । उहाँले कोभिडको समयमा अपनाईएका स्वास्थ्य सुरक्षाका विधिहरु अपनाउन सुझाव दिनुभयो ।





