चितवन: नेपालका क्यान्सर अस्पतालका चिकित्सक स्वास्थ्यकर्मीहरुलाई क्यान्सर उपचारमा सघाउन अन्तर्राष्ट्रिय स्तरको कार्यशाला यहाँ आयोजना गरिएको छ । चार दिनसम्म चल्ने कार्यशाला यहाँको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भएको हो । कार्यशालामा सैद्धान्तिक र प्रयोगात्मक सीप प्रदान गरिएको छ ।

क्यान्सर रोगको उपचारमा एसआरएस (स्टेरियोट्याक्टिक रेडियो सर्जरी), एसआरटि (स्टेरियोट्याक्टिक रेडिएसन थेरापी) र एसबिआरटी (स्टेरियोट्याक्टिक बडी रेडिएसन थेरापी) का विषयमा मेडिकल फिजिसिस्ट र रेडिएसन अंकोलोजिष्टहरुलाई सीप र ज्ञान प्रदान गरिएको छ ।

यो प्रविधिबाट उपचार गर्दा टाउको (ब्रेन), कलेजो, फोक्सो लगायतका ठाउँमा भएका शल्यक्रिया पनि गर्न नमिल्ने सानो ट्युमर (क्यान्सर) लाई बिना शल्यक्रिया रेडिएसनको माध्यमबाट उपचार गर्न सकिन्छ ।

यसै विषयमा विश्वका विभिन्न देशका विज्ञहरु सहित सहभागीहरुले कार्यशालामा मेडिकल फिजिसिस्ट र रेडिएसन अंकोलोजिष्टहरुले अनुभव र सीप आदानप्रदान गरेको अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा रेडिएसनका लागि आवश्यक उपकरण भएर पनि यो खालको प्रविधि प्रयोग गर्ने जनशक्ति उपयुक्त तालिम अभावमा प्रयोगमा ल्याउन कठिन भएको थियो । कार्यशालासँगै नयाँ प्रविधिबाट क्यान्सरको उपचार प्रभावकारी रुपमा अघि बढ्ने उहाँको भनाई छ ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका रेडियो थेरापी विभागका विभागीय प्रमुख डा.रञ्जनभक्त भण्डारीका अनुसार क्लिनिकल इम्प्लिमेन्टेसन अफ एसआरएस (स्टेरियोट्याक्टिक रेडियो सर्जरी), एसआरटि (स्टेरियोट्याक्टिक रेडिएसन थेरापी) र एसबिआरटी (स्टेरियोट्याक्टिक बडी रेडिएसन थेरापी) का विषयमा मेडिकल फिजिसिस्ट र रेडिएसन अंकोलोजिष्टहरुबीच अनुभव साटासाट र विज्ञहरुबाट प्रशिक्षण दिईएको हो ।

साधनस्रोत र जनशक्तिका हिसाबले यस अस्पताल यो कार्यशाला गर्न उपयुक्त हुने भन्दै उहाँले अस्पतालको उद्देश्य अनुसार नै यो कार्यक्रम ल्याईएको बताउनुभयो । यो कार्यशालाले नेपालको चिकित्सक स्वास्थ्यकर्मी लाभान्वित हुने भन्दै उहाँले नेपाल विभिन्न क्यान्सर अस्पतालबाट सहभागिहरु आएको बताउनुभयो ।

हेण्ड् अन वर्कसप (कार्यशाला) नाम दिईएको तालिम साउथ एसिया सेन्टर फर मेडिकल फिजिसिस्ट एण्ड क्यान्सर रिसर्च सेन्टर (एससीएमपिसिआर) ले आयोजना गरेको हो । यो कार्यशाला युरोपियन बोर्ड अफ एक्रिडिएसन ईन मेडिकल फिजिक्सबाट मान्यता प्राप्त हुने जनाईएको छ ।

अस्पतालका मेडिकल फिजिसिस्ट सुरेश पौडेलले युरोपमा हुने खालको कार्यशाला यही भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो कार्यशाला युरोपियन स्टाडण्र्डको हो, सोही अनुसारको मान्यता प्राप्त छ ।” आफूहरुले सिकेको सीप र दक्षतालाई प्रस्तुत गर्दै विदेशी विज्ञबाट थप अनुभव प्राप्त हुने उहाँको भनाई छ । उहाँले थप्नुभयो “यो कार्यशालाले नेपालको क्यान्सर उपचार पद्धतिमा थप गुणस्तरीयता प्रदान गर्ने छ ।”

कार्यशालामा नेपाल सहित जर्मनी, बेल्जियम, नेदरल्याण्ड, स्वीजरल्याण्ड, भारत, बंगलादेश लगायतका देशबाट सहभागी र विज्ञहरु सहभागी हुनु भएको छ । कार्यशालामा ४२ जना सहभागी र सात जना विदेशी विज्ञ हुनुहुन्छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झाले नेपालमा मेडिकल फिजिसिस्टको संख्या अत्यन्त कम भएको चर्चा गर्दै यो खालको तालिम महत्वपूर्ण भएको बताउनुभयो । उहाँले नेपालको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले यसको शैक्षिक कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो । अस्पतालले यो शैक्षिक कार्यक्रम ल्याउन अग्रसरता दिए आफूले सहयोग गर्ने बताउनुभयो ।

तालिममा सहभागी साउथ एसिया सेन्टर फर मेडिकल फिजिसिस्ट एण्ड क्यान्सर रिसर्च सेन्टर (एससीएमपिसिआर) का संस्थापक जर्मन नागरिक प्रा.डा.गोलम अबु जकरियाले यो कार्यशाला नेपालका लागि महत्वपूर्ण भएको भन्दै यहाँका चिकित्सक स्वास्थ्यकर्मीले नयाँ प्रविधिको ज्ञान पाएको बताउनुभयो ।

सोही संस्थाका निर्देशक बंगलादेशी नागरिक हसिन अनुपमा अजारीले कार्यशालाले सहभागीबीचमा ज्ञान र सीपको आदान प्रदान गरेको बताउनुभयो । आफूहरुले आठौं कार्यशाला नेपालमा गरेको भन्दै यस अघि विभिन्न देशमा यस्ता कार्यशाला गरिसकेको जानकारी दिनुभयो ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल फिजिसिस्ट इञ्चार्ज सुरेन्द्र बहादुर चन्दले आफूहरुले एसआरएस (स्टेरियोट्याक्टिक रेडियो सर्जरी) शुरु गरेको भन्दै यो कार्यशालाले थप ज्ञान प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो “युरोप लगायतका देशमा कसरी यसको प्रयोग भईरहेको छ भन्ने कुरा सिकेर सोही अनुसार प्रयोगमा ल्याउँछौं ।”

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजयराज न्यौपानेले क्यान्सर उपचारको रेडिएसन (सेकाईमा) मेडिकल फिजिसिस्टको महत्वपूर्ण भूमिका हुने भन्दै उहाँले यो कार्यशालाले यहाँको उपचारलाई थप गुणस्तरीय र प्रभावकारी हुने बताउनुभयो । कार्यशाला आईतबार समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस !