चितवनः यहाँको बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र बिरामीका आफन्तहरुले उपचार सहज रुपमा पाउन नसकेको गुनासो गरेका छन् । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा यहाँका बिभिन्न सामाजिक संघ संस्थाले आयोजना गरेको क्यान्सर प्रभावित बिरामीहरुलाई फलफुल बितरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने बिरामी र उनीहरुका आफन्तले अस्पतालमा उपचार झन्झटीलो भएको गुनासो गरेका हुन ।
आदर्श नारी बिकास केन्द्रको अगुवाईमा आयोजना गरिएको कार्यक्रममाकन्चनपुरबाट बिरामी माइजुलाई उपचारका लागि ल्याउनुभएकी मनमति भट्ट क्यान्सरको उपचार महंगो भएको र उपचार पनि सहज रुपमा पाउन नसकीएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “हामीलाई अस्पतालले दिने सुबिधाको बारेमा जानकारी छैन । उपचार सहज हुनु प¥यो ।”अस्पतालमा उपचारका लागि भर्ना गरिएका बिरामीहरु प्रति स्वास्थ्य कर्मीहरुले गर्ने व्यवहार राम्रो वनाउनुपर्ने उहाँको भनाई थियो ।
सिराहाबाट आएर बिगत चार महिना देखि उपचार गराउँदै आउनु भएकी राजकुमारी सुनुवार केमो लगाउने पालो कुरेर बसी राख्नु भएको छ । आइतबार केमो लगाउने पालो भए पनि बिहिबार देखिनै अस्पतालमा भर्ना भएर वस्नु भएकी सुनुवार केमो नपाएर समस्या भएको गुनासो गर्नुहुन्छ । अस्पताल प्रशासनले बिरामीको सम्वेदनशीलतालाई ख्याल नगर्दा उपचारमा असहज हुने गरेको उहाँले गुनासो गर्नुभयो । उहाँले थप्नुभया “बिमा बाट पाउनु पर्ने औषधि पाउन सकीएको छैन । बाहिर किन्दा महंगो पर्न जान्छ ।” रगत पाउन समेत मुस्किल पर्ने गरेको उहाँको भनाई छ ।
यस अस्पतालमा नेपाल सहित छिमेकी मुलुक भारतबाट समेत उपचारका लागि बिरामीहरु आउने गर्दछन् । बिगतमा बिरामीले निकै दुःख पाउने गरेको भए पनि पछिल्ला दिनमा केही सहज वन्दै गएको छ । यध्यपि स्रोत, साधन र जनशक्तिको अभावमा बिरामीको अपेक्षा अनुसार चाहे जस्तो सेवा दिन कठिन भएको अस्पतालका उपनिर्देशक डा. उमेश नेपालले बताउनुभयो । उहाँले भन्नुभयो “धेरै सहज वन्दै गएको छ । सेवा ग्राहीले अपेक्षा गरे जस्तो बनाउने प्रयासमा छौ ।”
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मायाँ श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक राजन लिम्बु, क्यान्सर बिजेता वन्दना खाँड लगाएतले बालबालिका र महिलाहरुको उपचारमा सहजीकरण गर्न आबश्यक रहेको बताउनुभएको थियो । बिरामीलाई सान्तवना दिन सकेमा उपचारमा सहज हुने उहाँहरुको भनाई थियो । आदर्श नारी बिकास केन्द्रकी अध्यक्ष मिना खरेलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालमा भर्ना भएर उपचार गराई रहनु भएका ३ सय बढी बिरामीलाई फलफुल बितरण गरिएको थियो ।





