चितवनः यहाँको संघिय अस्पताल भरतपुर अस्पताललाई प्रबिधि मैत्री वनाईदै लगिएको छ । अस्पतालको सबै क्षेत्रमा स्मार्ट नेटवर्कीङ्, टिकट र विलिङ्गमा सफ्टवयर प्रणाली जडान, भिडभाड हुने ठाउँमा पालो व्यवस्थापनका लागि टोकन प्रकृया, ९० स्थान भन्दा बढी ठाउँमा सिसि टिभि जडान, बिद्युतीय हाँजीरी प्रयोग जस्ता अधिकांश काममा आधुनिक प्रबिधिको प्रयोग गरिएको छ ।
एकिकृत अस्पताल व्यवस्थापन पद्धती संञ्चालनमा ल्याईएको छ । यसबाट बिरामी भर्ना देखि डिस्चार्ज सम्मको बिबरण राख्न सकिन्छ । आबश्यक बिबरण जुन सुकैवेला हेर्न मिल्ने व्यवस्था गरिएको छ । अहिले अस्पतालको प्रयोगशालाको रिपोट हरेक बिभागमानै हेर्न मिल्ने व्यवस्था गरिसकिएको छ ।
विरामीको प्रयोगशालाको नतिजा आँफैले निकाल्न मिल्ने (भेन्डीङ्ग मेसीन) जडान गरिएको छ । अस्पतालका आइटी इन्जीनियर चन्द्र बस्यालले अस्पताललाई प्रबिधि मैत्री वनाउँदै जाँदा कागज रहित बनाउन सकिन्छ की भन्ने उद्धेश्यले काम भईरहेको बताउनुभयो ।
अस्पतालले यही फागुन १८ गते देखि अस्पतालका सबै बिभाग र वार्डहरुमा तस्बिर अभिलेखन तथा सञ्चार प्रणाली (प्याक)मार्फत सबै रिपोटहरु हेर्न मिल्ने वनाउन लागेको छ । अस्पतालले रु ९ लाख ८५ हजारको लागतमा प्रणाली जडानको काम अन्तिम चरणमा पु¥याएको हो ।
यो प्रणाली जडान गरे संगै अस्पतालको रेडीयोलोजि बिभागमा हुने एक्सरे, सिटिस्क्यान, एमआरआई लगाएतका रिपोटहरु सम्बन्धित वार्डहरु र बिभागमा पुग्ने छ । अहिले बिरामी र बिरामीका आफन्तहरुले रिपोट लिनका लागि लामो समय लाईनमा बस्नुपर्ने र फाइल बोकेर हिड्नु पर्ने बाध्यता भए पनि त्यसलाई अन्त्य गर्न लागिएको उहाँले बताउनुभयो ।
अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्ण प्रसाद पौडेलले भन्नुभयो “अहिले हामीले रिपोट बिरामी र बिरामीको आफन्तले सामाजिक संञ्जाल ह्वाटसप नम्बरमा मागेको खण्डमा पठाउने गरिएको छ । अब चिकित्सकको अघि भएको कम्युटरमानै पुग्ने भएकाले चिकित्सक तथा नर्सहरुले सहज रुपमा हेर्न पाउने छन् ।” यहाँ आउने बिरामीले अन्य प्रयोगशालाको रिपोट समेत अफ्नै मोवाईलमा हेर्न पाउने गरी व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रयोगशालामा दिएको बिभिन्न किसिमको नमुनाको बिलमा रहेको स्क्यानर स्मार्ट फोनबाट स्क्यान गरेर मोवाईलमानै लिन सक्ने व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो “अस्पतालमा आएका बिरामीलाई आफ्नो रिपोट लिन पुनः अस्पताल आउनु पर्ने बाध्यता अन्त्य गर्दै प्रबिधिको प्रयोग गरिएको छ । सेवा ग्राही पनि प्रबिधि मैत्री वन्न सक्नु पर्छ ।”
अस्पतालमा जडान गरिएको प्रबिधिले चिकित्सकको भौतीक उपस्थिति बिनानै नतिजा(रिपोट) दिन सकिने छ । “अस्पतालमा कार्यरत चिकित्सकले नभ्याएको खण्डमा रिपोटका लागि बाहिरका चिकित्सकहरु संग समेत परामर्श गर्न सजिलो हुने छ” उहाँले भन्नुभयो । सरकारी अस्पतालमा रिपोट ढिला आउँछ भन्ने सन्देश चिर्न यो प्रणाली जडान गरिएको हो । अस्पतालले बिगत दुई वर्ष देखि अनलाईन टिकटको समेत सेवा दिदै आएको थियो ।
अस्पतालमा दैनिक चितवन सहित १९ वटा जिल्लाबाट उपचारका लागि २ हजार बढी बिरामीहरु आउने गरेका छन् ।





