चितवनः राजधानी प्रवेश र बाहिरिने नारायणगढ–मुग्लिन सडक खण्डको २५ ठाउँ पहिरोको हिसाबले जोखिम देखिएको छ । ती मध्ये चार ठाउँ उच्च जोखिममा छन् भने सात ठाउँ न्यून जोखिममा छन् ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार कार्यालयले गरेको अध्ययनले नाम्सी, कालीखोला र तुईन खोलाको पहिरो नियन्त्रणका लागि रु.५२ करोड खर्च हुने अनुमानित लागत निकालिएको छ । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुईन पुल क्षेत्रमा पहिरोको हिसाबले उच्च जोखिम छ ।

ती ठाउँहरुमा ‘स्लोप स्टेवलाईजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्ने उहाँले बताउनुभयो । ती ठाउँहरुमा जालीमा नट कसेर पहिरो रोक्ने काम गर्नुपर्ने हुन्छ । यस्तै जोखिम मध्ये गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलोमा कम जोखिम रहेको अध्ययनले देखाएको छ । अन्य ठाउँमा जोखिम भएपनि मध्यम खालको रहेको पौडेलले बताउनुभयो ।

वि.सं. २०८० सालको वर्षामा यो सडकमा ३० पटक पहिरो खस्दा १२३ घण्टा सडक अवरुद्ध भएको थियो । बि.सं. २०७९ मा ३६ पटक पहिरो खस्दा १३३ घण्टा सडक अवरुद्ध भएको थियो ।
कार्यालयका इञ्जिनियर सागर कार्की क्षेत्रीले पानी परेपछि जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले सेतीदोभानमा लोडर, मौरी पुलमा एक्साभेटर र चार किलोमा लोडर तयारी अवस्थामा राख्न लागिएको बताउनुभयो । ठूलो पहिरो खसेमा हेवी ईक्युप्मेन्ट डिभिजन कार्यालय हेटौंडा र यन्त्रीक कार्यालय डुम्रे तनहुँबाट उपकरण ल्याएर पहिरो पन्छाउने तयारी गरिएको छ ।
सोही सडक खण्डको केराबारीमा नेचरबेस सोलुसन नामक संस्थाले बायो इञ्जिनियरिङ प्रविधिबाट पहिरो नियन्त्रणका लागि अध्ययन गरिरहेको छ । सोही सडकको अन्य ११ ठाउँमा पहिरो जोखिमको अध्ययनका लागि सडक विभागमा पत्राचार गरिएको छ । खहरे खोला, भतेरीको ओरालो, गाईघाट, सेतीदोभान, जलवीरे, २६ किलो र चार किलो क्षेत्र ११ ठाउँमा अध्ययन गर्न पत्राचार गरिएको छ ।
हरेक वर्ष वर्षातको समयमा यो सडकमा पहिरो खसेर दुःख दिने गरेको छ । यही सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवातजावत गर्दछन् । पूर्वी र पश्चिम नेपालबाट काठमाण्डौं र पोखरा जाने मुख्य सडक भएकाले यहाँ सवारीको चाप हुने गर्दछ । केही वर्ष अघि सडक स्तरोन्नतीको क्रममा भित्तो काटिएका कारण धेरै पहिरो खसेको थियो । यससँगै नयाँ पुल बनाउने क्रममा अन्य ठाउँहरुमा भित्तो काटिएका कारण पहिरोको जोखिम उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस !