चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा आइतबार राती भएको सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्या २ पुगेको छ । मृत्यु हुनेमा प्युठानको नौबैईनी गाउँपालिका वडा नम्बर ३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकको सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ बर्षिय राजन सुवेदी रहेका छन् । पुनको रातीनै मृत्यु भएको हो भने सुवेदीको उपचारका क्रममा आज बिहान ८ः ४५ वजे चितवन मेडीकल कलेजमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक भेषराज रिजालका अनुसार ना ३ ख ७९१५ नम्बरको ट्रकका सहचालक सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो ।
नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा मध्यराति चारवटा सवारी साधन एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा घाईते अन्य २१ जनाको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ । रिजालका अनुसार काठमाडौंबाट प्यूठानतर्फ जान आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ जान आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एक आपसमा ठक्कर खाएका हुन् ।

प्रतिक्रिया दिनुहोस !