चितवनः चितवन राष्ट्रिय निकुञ्जले एक सिंगे गैंडाको खाग खरिद बिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन् ।

निकुञ्ज कार्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ गरेकाहरुलाई सार्वजनिक गरेको छ । सो अवसरमा दिएको जानकारी अनुसार गत चैत २७ गते भरतपुर महानगरपालिका वडा नं. ६ बाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका वडा नं. १६ बस्ने २९ वर्षिय क्रान्ती खड्का, सोही नगरपालिका वडा नं. १५ वस्ने ५० वर्षिय छविलाल परियार, सोही ठाउँका ३६ वर्षिय प्रकाश घिमिरे, वडा नं. १६ बस्ने ३८ वर्षिय लेखनाथ सुनार, बुलिङटार गाउँपालिका वडा नं. ४ बस्ने ३५ वर्षिय खिम बहादुर बराल र जिल्ला बझाङ छविसपाथिभरा गाउँपालिका वडा नं. १ वस्ने २७ वर्षिय प्रकाश राज जोशी रहेका छन् ।
उनीहरु मध्ये खड्काको साथबाट रातो रङ्गको प्लाष्टिकको झोलामा संरक्षित वन्यजन्तु एक सिंगे गैंडाको खाग (आखेटोपहार) एक थान फेला परेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो ।
घटना विवरण अनुसार उक्त खाग वि.सं. २०७२ साल चैत्र महिनातिर चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गतको गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा फेला परेको उल्लेख छ । पुनका अनुसार पक्राउ परेका छविलाल परियार र कावासोती नगरपालिका वडा नं. १५ बस्ने भैरव थापाले घाँस दाउरा गर्न भनि गएको बखत उक्त वन क्षेत्रमा एक सिंगे गैंडा मरी सडिगलेको अवस्थामा रहेको र उक्त मृत गैंडाको खाग २ जना मिलि चोरी गरी लगेको अनुसन्धानबाट खुलेको छ । निजहरु मध्ये थापाको मृत्यु भईसकेको उहाँले जानकारी दिनुभयो ।
अनुसन्धानका क्रममा अन्य एक जना व्यक्ति समेत गैडाको खाग खरिद बिक्री कार्यमा संलग्न रहेको देखिएको हुँदा सम्मानित जिल्ला अदालतबाट पक्राउ गर्न अनुमति लिई खोज्दा नभेटिएकोले निजलाई फरार प्रतिवादी कायम गरिएको उहाँको भनाई छ । निजको नाम सार्वजनिक गरिएको छैन ।
पक्राउ परेका र फरार रहेका गरी सात जनलाई प्रतिवादी वनाई संरक्षित वन्यजन्तु एकसिंगे गैंडाको खाग (आखेटोपहार) खरिद तथा विक्री मुद्दामा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ संशोधन) ऐन २०२९ को दफा ५(१) को (क) र दफा २६(१) को विरुद्धको कसुर गरेको निकुञ्जको ठहर छ । उनीहरुलाई सोहि ऐनको दफा २६ (१) बमोजिम सजाय माग गरी जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको पुर्जा पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !