चितवनः चितवन राष्ट्रिय निकुञ्जमा रहेका पानीका स्रोत घट्दै गएका छन् । लामो खडेरीका कारण पानीका स्रोत घट्दै गएका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका साना ठूला १३४ वटा तालतलैया रहेका छन् । कतिपय प्राकृतिक रुपमा बनेका हुन् भने कतिपय निकुञ्जले बनाएको हो । यसका अतिरिक्त सिमसार क्षेत्र, नदी, खोलाहरु पनि रहेका छन् । तिवारीले गत वर्षहरुको तुलनामा यस वर्ष पानीको सतह घटेको छ । उहाँले भन्नुभयो “सामान्यतया हेर्दा पनि पानीको सतह घटेको देखिन्छ ।”
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले लामो समय पानी नपरेका कारण पानीको सतह घटेको बताउनुभयो । चर्काे घामले वास्पिकरण भएर जाने तर पानी नपर्ने हुँदा तालतलैयाको पानीको सतह घटेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “विगतका वर्षहरुमा भन्दा यस वर्ष पानीको सतह बढी घटेको अनुमान गरिएको छ ।” यस वर्ष हिउँदमा पानी कम परेका कारण पनि सतह घटेको उहाँको भनाई छ ।
पानीको सतह घटेसँगै यसको प्रत्यक्ष प्रभाव वन र वन्यजन्तुमा परेको छ । दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा गर्मी मौसममा तालतलैयामा आहाल खेल्न रुचाउँछ । यससँगै सबै वन्यजन्तुलाई पानी अत्यावश्यक हुने गर्दछ । निकुञ्जभित्रका पुराना ताल र सिमसार क्षेत्रमा हरेक वर्ष व्यवस्थापनको काम गर्नुपर्ने हुन्छ । न्यून बजेटका कारण थोरै क्षेत्रमा मात्रै काम हुने भएकाले पनि पानीको स्रोतहरु कम हुँदै गएका छन् ।
तालतलैयाहरुमा माटो, गेग्रान लगायतले भरिंदै जाने हुँदा नियमित सरसफाई आवश्यक पर्दछ । पानीका मुहानहरुमा पनि सरसफाई र व्यवस्थापनको काम गर्नुपर्ने हुन्छ । ती क्षेत्रको व्यवस्थापनमा बजेट कम हुँदा काम हुन पाएको छैन । विगतका वर्षहरुमा पानीका स्रोत व्यवस्थापनका लागि आर्थिक वर्ष २०७५÷०७६ मा रु. एक करोड ४५ लाख बजेट विनियोजन भएको थियो । त्यस वर्ष ६० वटा ताल व्यवस्थापनको काम गरिएको थियो । चालु आर्थिक वर्षसम्म आईपुग्दा घटेर रु. २५ लाख विनियोजन भएको छ । यसबाट सात वटा मात्रै तालतलैया व्यवस्थापन गरिएको छ ।
रकमको अभावमा नयाँ पोखरी खन्ने र पुरानोको सरसफाई र मर्मत गर्ने काम हुन नसकेको हो । जसका कारण वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्ने जोखिम बढ्ने पुर्जा पुनले बताउनुभयो ।






