चितवनः जंगली जनावारको आक्रमणबाट साउन यता सात जनाको मृत्यु भएको छ । गैंडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरुको मृत्यु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार गैंडाको आक्रमणबाट तीन जना, बाघको आक्रमणबाट तीन जना र मगर गोहीको आक्रमण एक जनाको मृत्यु भएको हो । बिभिन्न समयमा जंगली जनावारको आक्रमणबाट उनीहरुको मृत्यु भएको हो । सोही समयमा वन्यजन्तुको आक्रमणबाट २७ जना घाईते भएका छन् । जस मध्ये १५ जना सामान्य र १२ जना गम्भिर घाईते भएका हुन ।
घाइते हुनेमा हात्तीको आक्रमण १० जना, गैंडाको आक्रमणबाट १२ जना, बाघको आक्रमणबाट ४ जना रहेका छन् । यस्तै गौरी गाईको आक्रमणबाट एक जना घाइते भएको उहाँले जानकारी दिनुभयो । घाईतेको उपचारका लागि निकुञ्जले रु २१ लाख २३ हजार ७७४ राहात स्वरुप प्रदान गरेको उहाँले जानकारी दिनुभयो । मृत्यु भएका सात जनाको परिवारलाई राहत स्वरुप रु ७० लाख प्रदान गरिएको छ ।
मध्यवर्ती क्षेत्रको सामुदायीक वनमा नियम अनुसार वन पैदावारसंकलन गर्न जाँदा वन्यजन्तुले आक्रमण गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “गस्तिमा गएका निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएका नेपाली सेना, नेचर गाईडलाई समेत वन्यजन्तुले आक्रमण गरेको छ ।” मध्यवर्ती क्षेत्रका सामुदायीक वनहरुमा वन्यजन्तुको बासस्थान हुने र मानिसले पनि उपभोगका लागि सोही क्षेत्र प्रयोग गर्ने भएकाले सो क्षेत्रमा बढी संख्यामा वन्यजन्तुको आक्रमण हुने गरेको उहाँको भनाई छ । यस्ता क्षेत्रमा वन पैदावार संकलन गर्न जाँदा वन्यजन्तुको आनिबानी र उपस्थितिको बारेमा बुझेर जाने, साँझ बिहान नजाने, समुहमा जाने, प्रकृति सुहाउँदो खालका कपडाहरु लगाएर जाने गर्दा क्षती कम गर्न सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !