चितवनः स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्ट्रिले सुगम जिल्लाको रुपमा चिनिने यस जिल्लामा अझै पनि किशोरी आमा बन्ने समस्या अन्त्य हुन सकेको छैन । बिगत ३ आर्थिक वर्षको तुलना गर्दा २० वर्ष मुनिका आमा बन्नेहरुको संख्या उस्तै छ ।
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार हरेक वर्ष स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने मध्ये किशोरी आमा ८ देखि ९ प्रतिशतको बिचमा रहेको पाईएको छ । कार्यालयका सूचना अधिकारी इन्द्रमणी भण्डारीका अनुसार गत आर्थिक वर्षमा जिल्लाका बिभिन्न अस्पतालमा बच्चा जन्माएका मध्ये ९८५ जना किशोरी आमा रहेका छन् । सो आर्थिक वर्षमा ११ हजार ८६८ जनाले अस्पतालमा प्रसुती सेवा लिएका थिए ।
यस्तै आर्थिक वर्ष २०८१÷०८२ मा अस्पतालमा आएका ११ हजार ८९ जना मध्ये ९५८ जना किशोरी आमा रहेका थिए । आर्थिक वर्ष २०८०÷०८१ मा १३ हजार ५०३ जनाले बिभिन्न अस्पतालमा प्रसुती सेवा लिएकोमा १ हजार १८८ जना किशोरी आमा बनेका छन् । अझै पनि समाजमा बालबिबाह कायम रहेकाले किशोरी आमा बन्ने क्रम नघटेको उहाँले जानकारी दिनुभयो । आफ्नो समाजको चलन छोड्न नसक्ने र कानुन कार्यान्वयनमा ल्याउन नसक्दा समस्या भएको उहाँले बताउनुभयो ।
स्वास्थ्य, शिक्षा, रोजगारीका कुराहरुले गर्दा किशोरी आमा बन्ने समस्या अन्त्य हुन नसकेको हो । उहाँका अनुसार २० वर्ष मुनि बिवाह गर्न नपाउने कानुनी व्यवस्था छ । २० वर्ष मुनिकालाई किशोरीको रुपमा लिने गरिएको छ । तर यसको प्रभाव ग्रामिण क्षेत्रमा पर्न नसक्दा किशोरी आमा बन्दै आएका छन् । सानो उमेरमा आमा बन्ने र घरमानै सुत्केरी हुने चलन अझै नरोकिदा ठूलो चुनौति वढेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार गत आर्थिक वर्षमा किशोरी आमा मध्ये ६३० जनाले दक्ष प्रसुतिकर्मीबाट बच्चा जन्माएका थिए भने दक्ष स्वास्थ्यकर्मीबाट ३२७ जनाले बच्चा जन्माएका थिए । यस्तै अन्य स्वास्थ्यकर्मीबाट १० जना र घरमानै प्रसुति गराउनेको संख्या १८ जना रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ । स्वास्थ्यका दृष्टिले यस उमेर समुहमा आमा बन्नु भनेको जोखिम पूर्ण रहेको उहाँले बताउनुभयो ।
भरतपुर अस्पतालकी स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. सुजन भूषाल न्यौपाने कम उमेरमा आमा बन्नु स्वास्थ्यका लागि राम्रो नहुने बताउनुहुन्छ । शारिरिक वनावट पूर्ण रुपमा तयार भई नसक्ने भन्दै उहाँले यसबाट दिर्घकालिन स्वास्थ्यमा समस्या हुन सक्ने बताउनुभयो । कम उमेरमा बच्चा जन्माउँदा प्रसूतिमा जटिलता र भविष्यमा गर्भ धारण सम्बन्धी जटिलताहरूको जोखिम बढ्न सक्छ । बच्चाको कम तौल हुने, शारिरिक बिकास कम हुने खतरा हुने उहाँको भनाई छ । त्यसबाहेक, शिक्षा र सामाजिक अवसरहरू पनि प्रभावित हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस !