चितवनः चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैंडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्त सम्ममा निकुञ्ज क्षेत्रमा २० वटा र राष्ट्रिय वन क्षेत्रमा २ वटा गैंडा मरेका हुन ।
निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार दुई वटा गैंडा करेन्ट लागेर मरेका हुन भने अन्य प्राकृतिक कारणले मरेका हुन । चितवनको माडी र नवलपरासी सुस्ता पूर्बको लोकाहा खोला नजिकै करेन्ट लागेर गैंडा मरेको हो । माडीमा मध्यवर्ती क्षेत्र र नवलपरासीमा राष्ट्रिय वन क्षेत्रमा गैंडा करेन्ट लागेर मरेको हो । अन्य दलदलमा फसेर, जुधेर, बच्चालाई बाघले खाएर, बुढो भएर जस्ता कारणले गैंडा मरेको उहाँले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१÷०८२ मा ३० वटा गैंडा प्राकृतिक कारणले मरेका थिए । जस मध्ये दुईवटा राष्ट्रिय वन क्षेत्रमा मरेका हुन भने अन्य निकुञ्ज र मध्यवर्ती क्षेत्रमा मरेका हुन् । सन् २०२१ को गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वयस्क गैंडा रहेको तथ्याङ्क रहेको छ ।






