नारायणगढः धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै १५ दिनमै ९६९।१७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ ।

शाखाका प्रमुख राजन बगालेका अनुसार असारको पछिल्लो १५ दिनमा युरिया ६६८।२०० मेट्रिक टन, डिएपी २०१।८०० मेट्रिक टन र पोटास ९९।१७५ मेट्रिक टन बिक्री भएको छ ।

उहाँले जिल्लाका २७८ सूचीकृत सहकारी मार्फत अनलाइन प्रणालीबाट मल वितरण भइरहेको जानकारी दिँदै यसले वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाएको बताउनुभयो । प्रमुख बगालेले भन्नुभयो, “वितरण प्रणाली अनलाइन गरिएपछि काम निकै सहज भएको छ । कुन सहकारीले कति मल बिक्री ग¥यो र कति मौजाद बाँकी छ भन्ने सबै विवरण प्रणालीमा स्पष्ट देखिन्छ । कसैले पनि अनियमितता गर्न सक्दैन र सहकारीहरूले दैनिक रूपमा विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था छ ।”

कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी मल भरतपुर महानगरपालिकामा बिक्री भएको छ । भरतपुरमा २३९।१५० मेट्रिक टन युरिया, १९७।०५० मेट्रिक टन डिएपी र २२।२२५ मेट्रिक टन पोटास वितरण गरिएको छ ।

त्यसैगरी माडी नगरपालिकामा ११५।००० मेट्रिक टन युरिया र ९।५०० मेट्रिक टन पोटास, खैरहनी नगरपालिकामा ९०।१०० मेट्रिक टन युरिया र १९।१०० मेट्रिक टन पोटास, रत्ननगर नगरपालिकामा ७३।९५० मेट्रिक टन युरिया र २४।१०० मेट्रिक टन पोटास, राप्ती नगरपालिकामा ६४।३०० मेट्रिक टन युरिया, ०।७०० मेट्रिक टन डिएपी र १०।२५० मेट्रिक टन पोटास, कालिका नगरपालिकामा ४९।००० मेट्रिक टन युरिया र १४।००० मेट्रिक टन पोटास तथा इच्छाकामना गाउँपालिकामा २८।५०० मेट्रिक टन युरिया बिक्री भएको कम्पनीले जनाएको छ ।

आपत्कालीन वा विशेष आवश्यकताका लागि छुट्याइएको ‘बफर’ मौज्दातबाट ८।२०० मेट्रिक टन युरिया र ४।०५० मेट्रिक टन डिएपी वितरण गरिएको प्रमुख बगालेले जानकारी दिनुभयो ।
कम्पनीका अनुसार धान रोपाइँको मुख्य सिजनमा चितवन जिल्लाभर करिब २,५०० देखि ३,००० मेट्रिक टन रासायनिक मलको माग रहने अनुमान गरिएको छ । त्यसअनुसार आवश्यक मौज्दात व्यवस्थापन गरी किसानलाई सहज रूपमा मल उपलब्ध गराउने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !