चितवनः निरन्तर परेको वर्षाका कारण अत्याबश्यक बाहेक नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा यात्रा नगर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीबि शर्माद्धारा जारी सूचनामा उक्त सडक खण्डका बिभिन्न स्थानमा पहिरो जान सक्ने भएकाले उक्त सडकमा यात्रा गर्दा नजिकको सुरक्षा निकायसंग समन्वय गर्न अनुरोध गरिएको छ ।
यस्तै स्थानीय सरकार, डिभिजन सडक कार्यालय लगाएतका सरोकारवालासंग समन्वय गर्न आग्रह गरिएको छ । जिल्ला बिपद व्यवस्थापन समितिको आज बसेको बैठकले निरन्तर रुपमा परेको वर्षाद्का कारण नारायणगढ–मुग्लिन सडक खण्ड सहित अन्य राष्ट्रिय राजमार्गका बिभिन्न स्थानमा पहिरोले सडक अबरुद्ध हुन सक्ने भन्दै यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय, सडक, सिचाई तथा जल स्रोत आयोजना, वन लगायतकका निकायलाई मेशिनरी औजार सहित तयारी अबस्थामा रहन समेत निर्देशन दिईएको छ । समितिको बैठकले तुईन खोला र सेती दोभानमा पहिरोको उच्च जोखिम रहेको औल्याएको छ ।
यस्तै बैठकले हुन सक्ने सम्भावित बिपतलाई मध्यनजर गर्दै पुरानो होल्डिङ् सेन्टरलाई खालि गर्न निर्देशन दिईएकको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले बि. सं. २०५८ सालमा आएको बिपदका कारण तत्कालिन जिल्ला बिकास समिति र नेपाल रेडक्रश सोसाईटीले दुबै संस्थाको नाममा जग्गा खरिद गरि होल्डिङ् सेन्टरको रुपमा रहेको ठाउँ खालि गर्न भनेको हो । भरतपुर महानगरपालिका वडा नम्बर– २३ मा रहेको सेन्टरमा रहेका बास्तबिक आश्रय बिहिनलाई अन्य बैकल्पिक व्यवस्था नभएकाहरुको पहिचान गरि अन्यलाई उक्त सेन्टरबाट हटाउन समेत निर्देशन गरेको छ । होल्डिङ् सेन्टर सफा गरी तयारी अबस्थामा राख्न समेत समितिले निर्देशन दिएको हो ।
तत्कालिन समयमा सो होल्डिङ् सेन्टरमा ४० घर निर्माण गरेर बाढी प्रभावितलाई राखिएको थियो । १ विगाह क्षेत्रफलमा होल्डीङ् सेन्टर स्थापना गरी उनीहरुलाई राखिएको नेपाल रेडक्रश सोसाईटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । बिपद व्यवस्थापन समितिको बैठकले नदी तटिय क्षेत्रमा बसोबास गर्नेहरुलाई उच्च सर्तकता अपनाउन समेत आग्रह गरेको छ ।






