चितवनः जिल्लाका कृषकहरुले चैते धानको समर्थन मूल्य नपाउँदा निरास भएका छन् । यहाँका किसानले राज्यले तोकेको न्यूनतम मूल्य पाउन नसकेका हुन ।
पूर्बी चितवनको खैरहनी नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लि.का अधिकांश किसानले समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । संस्थाका अध्यक्ष रामशरण पाठकका अनुसार यहाँ एक हजार हेक्टर क्षेत्रफलमा लगाईएको धानले समर्थन मूल्य पाउन नसकेको हो । उहाँले भन्नुभयो “राज्यले तोकेको न्यूनतम समर्थन मूल्य पाउन सकेका छैनौ ।” सरकारले यस पटक चैते धानको समर्थन मूल्य प्रति क्विइन्टल रु २ हजार ८५६ तोकेको भए पनि अहिले रु १ हजार ७ सय देखि रु १ हजार ९ सय मात्र पाउने गरेको उहाँले बताउनुभयो ।
जिल्लामा लगाईने चैते धानमा चैते ५, हर्दिनाथ १, पिआर, टाइचिन जातका हुने गरेका छन् । यस क्षेत्रमा लगाईएको धानको मूल्य नपाएको उहाँको भनाई छ । सरकारले समर्थन मूल्य तय गर्दा सुकेको धानको मूल्य हो की काट्ने बित्तिकैको हो भन्ने अन्योल रहेकाले किसानमा अन्यौल रहेको उहाँले बताउनुभयो । सुकाएको धानको मूल्य समेत समर्थन मूल्य नपाएको उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर २८ मा रहेको राप्ती कृषि तथा पशुपालन समुहका सचिब रञ्जीत पौडेल समर्थन मूल्य नपाउँदा किसानमा निरासा छाएको बताउनुहुन्छ । अहिले किसानले पाएको मूल्यले लागत मूल्य समेत पाउन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “ट्याक्टर, थ्रेसर र खेतलालाई दिने पैसा समेत नउठ्ने भयो ।” चैते धानको समर्थन मूल्य व्यवसायीले नदिएपछि सस्तोमानै बेच्न बाध्य भएको उहाँले बताउनुभयो । यस समुह अन्तर्गत ६ विगाह क्षेत्रफलमा चैते धान लगाईएको छ । चिउरा वनाउने टाईचिन धानको मूल्य भने राम्रो रहेको छ । टाइचिन धानको मूल्य रु ४ हजार ५ सय प्रति क्विइन्टल रहेको छ ।
कृषि बिकास कार्यालय चितवनका प्रमुख झलकनाथ कंडेल अहिले किसानले चैते धानको समर्थन मूल्य नपाउँदा चिन्तित भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “कृषकले पाउनु पर्ने समर्थन मूल्यलाई तोकिएको भए पनि किसानले पाउन सकेका छैनन् ।”समर्थन मूल्यमा खरिद गर्ने बातावरण वनाउन सरकारले ध्यान नदिदाँ किसानलाई समस्या भएको हो । समर्थन मूल्य भन्दा कममा बिक्रि गर्नुपर्ने समस्या भए जनतालाई अनुदान दिने नीति बनाउन आबश्यक रहेको उहाँले बताउनुभयो । यस वर्ष जिल्लामा ९ हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाईएको छ ।

प्रतिक्रिया दिनुहोस !