चितवनः नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले १५ औं महाधिवेशनका बिषयमा पार्टीका नेताहरुसँग भेट्ने र संवाद गर्ने काम भईरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै उहाँले पार्टी उपसभापति विश्वप्रकाश शर्माले नेताहरुसँग कुराकानी गरिरहनुभएको बताउनुभएको हो ।

संस्थापन इतर समुहका नेता पूर्णबहादुर खड्कालाई भेट नदिनुभएको हो ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो “पार्टीका नेताहरुसँग भेट्ने, संवाद गर्ने कामहरु आफु र अन्य साथीहरुले समेत गरिरहनु भएको छ ।” पार्टीको कामहरु पनि अघि बढाई रहेको र नेताहरुसँग गर्नुपर्ने संवादहरु पनि गरिराखेको उहाँले बताउनुभयो ।

अहिले काँग्रेसले १५ औं महाधिवेशन केन्द्रीत कामलाई तीब्रताका साथ अघि बढाएको उहाँको भनाई थियो । यसका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । अद्यावधिक गर्ने क्रियाशील सदस्य ६ लाख माथि हुने र नयाँ थपिदाँ १४ औं महाधिवेशनको भन्दा धेरै क्रियाशील सदस्यता हुने उहाँले दावी गर्नुभयो । अद्यावधिकको काम सकिएपछि नयाँ क्रियाशील सदस्यताको काम सुरु हुने भन्दै उहाँले भन्नुभयो “नयाँ क्रियाशील सदस्यता लिन चाहानेको संख्या धेरै रहेको छ ।”

अधिवेशनका लागि मात्रै क्रियाशील बन्ने वा बनाईएका साथीहरु हामीहरुले नचाहेको हो भन्दै उहाँले यस पटक क्रियाशील सदस्यता अद्यावधिक अर्काले गरिदिएर नहुने बताउनुभयो । उहाँले भन्नुभयो “क्रियाशील सदस्यता निरन्तर राख्न पाउँछ तर म क्रियाशील हो भने मेरा लागि अर्काले भन्दीएर हुँदैन ।”

फरक प्रसंगमा बोल्दै उहाँले नेपाली काँग्रेस पार्टीले सरकार र अहिले उठेका मुद्धाहरुको बिषयमा संसदमा आफ्नो धारणा राखिरहेको बताउनुभयो । संसदको गतिरोधको बिषयमा काँग्रेसको धारणा के हो ? भन्ने प्रश्नमा उहाँले संसदिय दलको नेता र उहाँको नेतृत्वमा रहनु भएका साथीहरुले यस बिषयमा धारणा राखिराख्नु भएको बताउनुभयो । उहाँले भन्नुभयो “काँग्रेसका सांसदहरुले संसदमा आफ्नो धारणा राख्नुहुन्छ त्यसमा आबश्यकता अनुसार हामी जोडिदैं जान्छौ । ”

प्रतिक्रिया दिनुहोस !