चितवनः सरकारले सोमबार ल्याएको नीति तथा कार्यक्रमले नीजि क्षेत्रमा उत्साह वढाएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमहरु प्रभावकारी देखिएपनि कार्यान्वयनको समयमा कसरी जान्छ भन्नेमा पर्ख र हेरको अबस्थामा नीजि क्षेत्र रहेको यहाँका व्यवसायीहरुले बताएका छन् ।
उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीबि सुबेदी नीति तथा कार्यक्रम पूर्ण रुपमा वढ्न नभ्याए पनि उद्योगीको पक्षमा भएको आँफुले पाएको बताउनुहुन्छ । नीति तथा कार्यक्रम हरेक सरकारले राम्रो ल्याउने भएपनि कार्यान्वयनमा समस्या हुँदा नीजि क्षेत्र प्रभावित वन्ने गरेको बताउँदै उहाँले कार्यान्वयनको चरणमा कसरी जान्छ भन्ने हेर्न आबश्यक रहेको बताउनुभयो । अहिलेको नयाँ सरकारले ल्याएको नीति तथा कार्यक्रमहरु कार्यान्वयनको पक्षमा जानेमा आशाबादी हुँदै नीजि क्षेत्रमा उत्साह थपिएको उहाँको भनाई छ ।
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे नीति तथा कार्यक्रम सकारात्मक देखिएको बताउनुहुन्छ । अहिले सकारात्मक देखिए पनि वजेटले यी कार्यक्रमहरुलाई कसरी समेट्छ भन्नेमा भर पर्ने उहाँले बताउनुभयो । नीति तथा कार्याक्रम कार्यान्वयनका लागि क्यालेण्डर वनाएर सरकारले काम गर्न सके उत्साह थपिने उहाँको भनाई छ । बिद्युत रिजर्भ राख्ने देखि एकद्धार प्रणाली सम्मले सरकारले नीजि क्षेत्रलाई उत्साह थपेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सरकारको कार्यक्रम प्रभावकारी देखिन्छ तर कार्यान्वयनमा कसरी जान्छ भन्ने हो ।”
चितवन चेम्बर अफ कमर्शका अध्यक्ष गोपाल भट्टराई नीति तथा कार्याक्रम कार्यान्वयनको पक्षमा सरकार कसरी अघि वढ्छ भन्नेमा भर पर्ने बताउनुहुन्छ । अहिले कार्यक्रमहरु हेर्दा नीजि क्षेत्रलाई प्रथामिकतामा राखेको भए पनि कार्यान्वयनमा चुनौति वने अपेक्षाकृत फड्को मार्न नसकीने उहाँको भनाई छ ।
क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष गुणराज थपलिया नीति तथा कार्यक्रमले नीजि क्षेत्रले आशा गरे जति नभए पनि केही राहत हुने देखिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “पर्यटन व्यवसायीका लागि बि. सं. २०८५ भ्रमण वर्ष भन्नुले केही आशा जगाएको देखिन्छ ।” अहिले नीति तथा कार्यक्रममा केही सुधार देखिएपनि कार्यान्वयनको पक्षमा सरकार कसरी प्रस्तुत हुन्छ हेर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रिय अध्यक्ष बिनोद पोखरेलले लगानी वढाउन नीजि क्षेत्र प्रोत्साहीत हुने गरी नीति तथा कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “वजेट आउँदा छुटेका बिषय समावेश गरेर लगानी मैत्री हुने गरी सम्बोधन गर्नुपर्छ ।” नयाँ सरकार वने संगै सरकारले गरेका कामहरु जनमैत्री हुँदै गएको भन्दै उहाँले लगानीको बातावरण वनाईदिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !