चितवनः यहाँको कालिका नगरपालिकाले नगरप्रमुखको गाडी किन्ने बजेटबाट शव वाहन खरिद गरेको छ । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा नगर प्रमुखको सहित तीन वटा गाडी जलेको थियो । प्रमुख मोटरसाईकलमा हिँडेर जनतालाई राहत दिन शव वाहन खरिद गरिएको हो ।

नगर प्रमुख विनोद रेग्मीले रु.३१ लाखको लागतमा शव वाहन खरिद गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “नगरपालिकामा एउटा पनि गाडी छैन, नगर प्रमुखका लागि गाडी खरिद गर्ने भनेर बजेट छुट्याईएको थियो, त्यसबाट शव वाहन खरिद गरियो ।” आफू मोटरसाईकलमा हिँड्ने गरेको उहाँले बताउनुभयो ।

टाटा कम्पनीको पिकअप गाडीलाई खरिद गरेर शव वाहन बनाईएको हो । जिल्लाको पहाडी भूभाग समेत पर्ने नगरपालिकाका विपन्न समुदायले मृत्युपछि अन्त्येष्टिका लागि लैजान सवारीमा खर्च गर्न समेत कठिन भएपछि निःशुल्क सञ्चालन गर्नका लागि शव वाहन खरिद गरेको रेग्मीले बताउनुभयो ।

कतिपय खाडी मुलुकबाट काठमाण्डौंसम्म ल्याएको शव समेत ल्याउन समस्या हुने गरेको आफूले देखेपछि शव वाहनलाई प्राथमिकता दिएको नगर प्रमुख रेग्मीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !