चितवनः यहाँको कारागार कार्यालय चितवन बिरामी कैदी वन्दीको पहिलो रोजाईमा पर्दै आएको छ । यहाँ रहेका क्यान्सर अस्पताल, भरतपुर अस्पताल र दुईवटा ठूला मेडीकल कलेजमा सहज रुपमा उपचार पाउने भएपछि उपचारका लागि कैदी वन्दीको रोजाईमा यस कारागार पर्ने गरेको हो ।
क्यान्सर रोग लागेका कैदी वन्दीहरुको उपचारका लागि मूख्य रुपमा चितवन रोजाई हुने गरेको भएपनि अहिले अन्य रोगका बिरामीहरुको समेत रोजाईमा यस कार्यालय पर्ने गरेको हो । कार्यालयका प्रमुख रविन्द्र प्रसाद ढुङ्गानाका अनुसार केही दिन अघि मात्रै केन्द्रीय कारागार नुवाकोटबाट तीन जना बिरामीलाई उपचारका लागि यहाँ पठाईएको छ । देशका बिभिन्न जिल्लामा रहेका बिरामी कैदीवन्दीहरु उपचारका लागि पहिलो रोजाई काठमाडौं र त्यस पछि चितवन हुने गरेको छ ।
चितवन मध्यभागमा पर्ने भएकाले पनि यातायातको सहज सुबिधा हुँदा बिरामीका आफन्तहरुलाई समेत सहज हुने भएकाले यहाँ आउने गरेका हुन । उहाँका अनुसार हाल कारागारमा ११८ जना बिरामी कैदीवन्दी रहेका छन् । उनीहरुलाई बिभिन्न प्रकारका रोग लागेको छ । उहाँका अनुसार उच्च रक्तचापका ५४ जना बिरामी रहेका छन् । यस्तै मधुमेहका ३० जना, मानसिक रोगी १२ जना, हेपाटाइटिस बि भएका ५ जना, मुटु रोग, क्षयरोग, क्यान्सर, एचआईभि एड्स, छारे रोग लागेका ३÷३ जना र थाईराइडका २ जना बिरामी रहेका छन् ।
यहाँ रहेका नियमित औषधि सेवन गर्नुपर्ने बिरामीहरुका लागि औषधि खरिद गर्न समेत समस्या हुने गरेको उहाँले बताउनुभयो । यस आर्थिक वर्षमा यस कार्यालयलाई औषधि उपचार खर्च बापत रु १२ लाख विनियोजन भएको थियो । सरकारले बिनियोजन गरेको औषधिको रकम अपुग भएर जनस्वास्थ्य कार्यालय, भरतपुर महानगरको स्वास्थ्य शाखा, औषधि व्यवसायीहरुसंग सहकार्यमा औषधि व्यवस्थापन गर्दै आएको उहाँले जानकारी दिनुभयो । यस कारागारमा ४१ जना महिला सहित ६७९ जना कैदी वन्दी रहेका छन् । एक जना आश्रीत बालक रहेको उहाँले बताउनुभयो । अहिले अस्पतालमा भर्ना भएर दुई जना कैदी वन्दीले उपचार गराई रहेका छन् । यस कारागारको क्षमता ५०५ जनाको हो । जसमा ३० जना महिला र ४६५ जना पुरुष रहेको उहाँले बताउनुभयो । जेन जी आन्दोलनको क्रममा भागेका ११० जना कैदी वन्दी अझै फर्कन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस !