चितवनः यहाँको कालिका नगरपालिकाले आजबाट आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ । पालिकाले शुक्रबार रामनवमीका दिन पुजा गरि कार्यालयका सामाग्रीहरु सार्न सुरु गरेको थियो ।
नगरपालिकाका प्रमुख बिनोद रेग्मीका अनुसार आजबाट नियमित काम नयाँ भवनबाट सुरु गरिएको हो । निर्माणको ६ वर्ष पछि भवन सम्पन्न भएको हो । रविना कन्स्ट्रक्सनले वि.सं २०७६ फागुन १५ गते दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । निर्धारित समयमा काम नसकिएपछि चारपटक म्याद थप गर्दै अन्तिम म्याद २०८१ कात्तिक ३० गतेसम्म पु¥याइएको थियो । त्यस पश्चात नगरपालिकाले म्याद थप नगरि जरिवाना लिने निर्णय कार्यपालिकाको बैठक र परिषदबाट समेत गरेको छ । नगरपालिकाले निर्माण कम्पनी संग रु १ करोड १६ लाख जरिवाना गरेको छ । रेग्मीका अनुसार रु ११ करोड ५६ लाखको लागतमा आधुनिक नयाँ भवन निर्माण गरिएको हो ।
बि. सं. २०७२ असोज १ गते स्थापना भएको नगरपालिकाले १० वर्ष पछि आफ्नै भवनबाट सेवा सुरु गरेको हो । नयाँ भवन आधुनिक सुविधासम्पन्न रहेको छ । भवनमा सभाहल, नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सचिवालय सहितका कार्यकक्ष तयार गरिएको छ । साथै आर्थिक, स्वास्थ्य, कृषि तथा पशुसेवा, सामाजिकलगायत सबै शाखाहरुले यही भवनमार्फत सेवा प्रदान गर्ने छन् ।
साबिकको जुटपानी, पदमपुर, शक्तिखोर र सिद्धि गाउँबिकास समिति समायोजन गरी यस नगरपालिका वनाईएको हो । यस नगरपालिकाको जनसंख्या ५२ हजार भन्दा बढी रहेको छ । यहाँ ब्राह्मण, चेपाङ, तामाङ, थारु, क्षेत्रीलगायतका विभिन्न जातजाति र समुदायको मिश्रित बसोवास छ । नगरपालिकाले आफ्नै प्रशासनीक भवनबाट सेवा दिए संगै नगरबासीलाई सेवा लिन र कर्मचारीहरुलाई काम गर्न सहज भएको प्रमुख रेग्मीले बताउनुभयो ।






