चितवनः मध्यपूर्वमा वढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा देखिएको छ । हवाई यात्रा महंगो र असुरक्षित भए पछि घुम्न नेपाल आउन लागेका धेरै पर्यटकले यात्रा रद्ध गरेका छन् ।

भारत, चीन र अष्ट्रेलिया बाहेकका देशबाट यहाँको सौराहा क्षेत्रमा घुम्न आउने पर्यटकहरुले यात्रा रद्द गरेको व्यवसायीहरु वताउँछन् । विगतका वर्षहरुमा यतिवेला सौराहाका होटलहरु ८० प्रतिशत हाराहारी भरिने गरेको व्यवसायी बताउँछन् । उनीहरुको भनाईमा यस वर्ष यतीवेला २० प्रतिशत हाराहारी मात्र पर्यटक आएका छन् । निर्वाचनका कारण १५ दिन प्रभावित वनेको सौराहाको पर्यटन क्षेत्र त्यस लगत्तै मध्यपूर्वको द्धन्द्धको प्रभाव परेको हो ।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओम प्रकाश पाण्डे फेब्रुअरी, मार्च र अप्रील महिना सौराहाको मुख्य पर्यटकीय मौषम भएको बताउनुहुन्छ । गत वर्षहरुमा यतीबेला होटलका ८० प्रतिशत कोठा भरिने गरेको भन्दै यस वर्ष २० प्रतिशत हाराहारी मात्र रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “द्धन्द्ध भएका मुलुक वाहेकका देशहरुबाट पनि पर्यटकहरुले बुकिङ् रद्द गरेका छन् ।” यो वेलामा चितवन राष्ट्रिय निकुञ्जमा ढड्डीहरु फाँडेर टाढा सम्म देखिने भएकाले सजिलै बन्यजन्तु हेर्न सकिन्छ । ठूला एजेन्सिहरुले अधिकांश बुकिङ् रद्द गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “आकाश असुरक्षित भएपछि को घुम्न आउँछ र ?”

संघका उपाध्यक्ष गुणराज थपलिया नेपालीहरु समेत घुम्न आउन छाडेको बताउनुहुन्छ । द्धन्द्धको प्रभावका कारण भएको महंगी र ती देशमा भएका आफ्ना इस्टमित्रको चिन्ताले नेपालीहरुलाई घुम्ने र रमाउने उत्साहा नभएको थपलिया वताउनुहुन्छ । जहाज भाडा अत्याधिक वढ्दा पनि अन्य मुलुकबाट समेत पर्यटक नआएको उहाँले जानकारी दिनुभयो ।

पर्यटन व्यावसायी सुमन घिमिरे आफ्नोमा बुकिङ् भएका ५० प्रतिशत रद्द भएको बताउनुहुन्छ । अक्टोबर र नोभेम्बर तीरको स्थगित नभएको भन्दै उहाँले तत्काल द्धन्द्ध रोकिएमा क्रमश सुधार हुने बताउनुभयो । द्धन्द्धका कारण मूख्य रुपमा युरोपियन, बेलायती, अमेरीकन, जर्मन लगाएतका देशका पर्यटकले यात्रा स्थगन गरेको उहाँ बताउनुहुन्छ । मुख्य मौषमका रुपमा लिइने यो समयमा द्धन्द्ध र निर्वाचनका कारण प्रभावित वनेपछि यो वर्ष समग्रमा प्रभावित हुन पुगेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “अब एक महिना बाँकी छ । यो मौषम राम्रो हुने देखिएन ।” जहाँ जे हुँदा पनि पर्यटन क्षेत्र प्रत्यक्ष रुपमा प्रभावित हुने गरेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

वनवास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपाने मध्यपूर्ब तनावका कारण पर्यटकहरुले बुकिङ् रद्द गरेको वताउनुहुन्छ । यो मौषममा युरोपियन सहित बिभिन्न देशबाट ठूलो संख्यामा पर्यटक आउने गरेको भन्दै उहाँले यस वर्ष द्धन्द्धका कारण प्रभावित वनेको बताउनुभयो । मध्यपूर्वका देशहरुमा ट्रान्जिट लिएर आउने जहाजहरु रोकिए पछि पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित वनेको न्यौपानेको भनाई छ । उहाँले भन्नुभयो “युद्धले नेपालको हस्पिटालिटी क्षेत्रमा नराम्रो असर प¥यो ।”

पर्यटन व्यवसायी सन्तोष गिरी मुख्य मौषममा द्धन्द्ध भए पछि प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्र परेको बताउनुहुन्छ । नेपाल आउने पर्यटकहरुले प्रयोग गर्ने एयरलाइन्स र ट्रान्जिटका बिमानस्थलहरु बन्द हुँदा टिकट काटेका पर्यटकले बुकिङ् रद्द गरेको उहाँ बताउनुहुन्छ । उहाँले थप्नुभयो “द्धन्द्धको मारमा परेपछि घुम्न र रमाउन को आउने ।”

सौराहामा १४८ वटा होटल छन् । जहाँ ७ हजार २०० पर्यटक अट्ने क्षमता छ । यस क्षेत्रमा प्रत्यक्ष रुपमा ६ हजार ४०० ले रोजगारी पाएका छन् । अप्रत्यक्ष रोजगारी पाउनेको संख्या १२ हजारभन्दा बढी छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायीक वनमा दुर्लभ एक सिंगे गैंडा, पाटेबाघ, घडीयाल गोही लगाएतका दुर्लभ वन, वन्यजन्तु र चराचुरुङ्गी हेर्न यहाँ स्वदेशी र बिदेशी पर्यटकहरु आउने गर्दछन् । यसका अतिरिक्त सौराहामा थारु संस्कृति पनि पर्यटकका लागि रुचिकर वन्दछन् । यसका साथै नेपालका बिभिन्न संघ संस्थाले कार्यक्रम सौराहामा गर्न आउँदछन् भने भारतीयहरु बिबाहका लागि पनि सौराहा आउने गर्दछन् । द्धन्द्धले सबै तिर प्रभाब पार्दा अन्य क्षेत्र संगै यहाँको पर्यटन क्षेत्र पनि प्रभावित वनेको हो ।

प्रतिक्रिया दिनुहोस !