चितवनः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भईरहेको निर्वाचनको परिणाम अनुसार देश अघि बढ्नु पर्ने बताउनुभएको छ । आज भईरहेको प्रतिनिधि सभा निर्वाचनमा भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुर स्थित नेपाल पुुलिस स्कूल मतदान केन्द्र क बाट मतदान गरेपछि बोल्दै उहाँले स्वच्छ, निष्पक्ष, धाँधलिरहित रुपमा भएको निर्वाचनको परिणाम अनुसार देश अघि बढ्नु पर्ने बताउनुभएको हो ।

उहाँले निर्वाचनमा सही र गलत भन्ने भास्य बनाउनु पर्ने भन्दै राष्ट्र, जनता र प्रगतिको पक्षमा को छ भन्ने जनताले हेर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो “गलत भास्य देश र जनताको हितमा छैन । विवेकको प्रयोग गरौं ।” राष्ट्र, जनता, स्थायित्व र समृद्धिको यात्रा तय गर्न यो निर्वाचन धेरै महत्वपूर्ण रहेको उहाँको भनाई छ ।

उहाँले अगाडि भन्नुभयो “यो निर्वाचन सामान्य नभएर असामान्य निर्वाचन हुन गईरहेको छ, म खुुशी छु ।” उत्साहका साथ निर्वाचनमा सहभागी हुन आम मतदातालाई उहाँले अपिल गर्नुभयो । आफू रुकुम पूर्वबाट उम्मेदवार भएपनि मतदान गर्न भरतपुर आएको भन्दै उहाँले अब निर्वाचन क्षेत्रमा जाने जानकारी दिनुभयो । दहालले मतदान गरेको स्थलमा एक हजार ८६५ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !