चितवनः भिनाजुको मलामी जानुभएका उपेन्द्र पण्डितले देवघाटको गैंडाकोटतर्फको बगरमा घाम तापिरहेको घडियाल गोही औलाले देखाउनुभयो । त्यस अघि नै गोही देखेर पत्रकार रमेशकुमार पौडेलले भाईलाई क्यामरा लिन घर पठाईसक्नु भएको थियो ।
मलामी गएका धेरैले गोहीतर्फ हेरिरहेका थिए । पत्रकार पौडेलले केही दिन अघि स्थानीय बोटेले नदी बगरमा गोही देखेको सुनाएको त्यहाँ बताउनुभयो । मलामीमा गएकाहरुले केही वर्ष अघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भएपनि पछिल्ला वर्षहरुमा दुर्लभ रुपमा गोही देखिएको प्रसंग सुनाएका थिए ।
चितवन राष्ट्रिय निकुञ्जका पूर्व सहायक संरक्षण अधिकृत स्व. वेदबहादुर खड्काले निकुञ्जमा कार्यरत रहँदा कुनै बेला देवघाट नजिकको नारायणी र कालीगण्डकी किनार घडियाल गोहीको राम्रो बासस्थान रहेको बताउनु भएको थियो । प्रदुषण बढ्दै गएपछि यो क्षेत्रमा घडियाल गोही देख्न छाडिएको उहाँको भनाई थियो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनास थापा मगर घडियाल बगेको सफा पानीमा बस्ने, माछा खाने प्राणी भएको बताउनुहुन्छ । नदी र खोलामा भएको प्रदूषण, मानवीय अतिक्रमण र माछाको कमीले घडियाल हराउँदै गएको उहाँको भनाई छ । स्थानीय बोटे समुदायका अनुसार देवघाट र यस वरपरको क्षेत्रमा विगत ३०÷३५ वर्ष यता घडियाल गोही देखिएको थिएन । थापा मगरले भन्नुभयो “पुराना मानिसको भनाई अनुसार झण्डै ३५ वर्ष यता देवघाट क्षेत्रमा घडियाल देखिएको थिएन ।” त्यहाँको रैथाने हो वा तलबाट गएको हो यसबारेमा बुझ्ने उहाँले बताउनुभयो ।
घडियाल संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसरामा प्रजनन् केन्द्र रहेको छ । जहाँ राप्ती र नारायणी नदी किनारमा जोखिममा रहेको गुँडबाट अण्डा संकलन गरी यहाँ ल्याएर बच्चा हुर्काउने गरिन्छ । हुर्किएका बच्चालाई पुनः नदीहरुमा छाड्ने गरिएको छ । विगतमा कालीगण्डकीमा समेत हुर्किएका घडियाल गोही छाडिंदै आउने भएपनि संरक्षण हुन नसकेपछि निकुञ्ज आसपासका राप्ती र नारायणी नदीमा मात्रै छोडिंदै आएको थापा मगरले बताउनुभयो ।
पछिल्लो पटक गएको पुसमा सार्वजनिक भएको गणना अनुसार राप्तीमा २३१ र नारायणीमा १३५ गरेर कुल ३६६ घडियाल गोही फेला परेका थिए । देवघाट क्षेत्रमा गोही नदेखिने भएकाले पछिल्ला वर्षहरुमा गणना हुन छाडेको छ । देवघाटमा गोही देखिनुलाई महत्वका साथ हेरिएको थापामगरले बताउनुभयो । यसबारेमा थप अध्ययन गरिने उहाँको भनाई छ ।






