चितवनः चितवन क्षेत्र नम्बर ३ का नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताले यस पटक आफ्नै चुनाब चिह्नमा मतदान गर्न पाउने भएका छन् । निर्वाचनका समयमा अन्य दलसंग तालमेल गर्दा बाह्र बर्ष देखि आफ्नो चुनाव चिह्नमा मत हाल्न नपाएका उनीहरुले यस पटक आफ्नो उम्मेदवार भए संगै मतदान गर्ने अबसर पाएका हुन ।

नेपाली काँग्रेसले बि. सं. २०७९ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का र बि. सं.२०७४ मा राप्रपाका उम्मेदवारलाई सघाएको थियो । माओवादी केन्द्रका डा. भोजराज अधिकारी र राप्रपाका बिक्रम पाण्डेलाई सघाएकाले मत पत्रमा रुख चुनाब चिह्न नभएको जिल्ला सभापति राजेश्वर खनालले बताउनुभयो ।

यस्तै नेकपा एमालेले बि. सं. २०७९ को प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिनेश कोइराला र बि. सं. २०७४ को निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सघाएको थियो । जिल्ला इन्चार्ज देवि ज्ञवालीले बि. सं. २०७० सालको संबिधान सभा निर्वाचन पछि अहिले आफ्नो चुनाब चिह्नमा मतदान गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो “निकै उत्साहाका साथ बाह्र वर्ष पछि हामी सूर्य चिह्नमा मतदान गर्दै छौं ।”

प्रतिनिधि सभा निर्वाचनमा वि. सं. २०७० मा आफ्नै चुनाव चिह्नमा मतदान गरेका यहाँका दुई दलका कार्यकर्ताले आसन्न प्रतिनिधि सभा निर्वाचनमा आआफ्नै निर्वाचन चिह्नमा मतदान गर्न पाउने भएका हुन् । वि. सं. २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला निर्वाचित हुनुभएको थियो । अघिल्लो पटक बाँकेबाट पराजित भएपछि जित्ने ठाउँ खोज्दै कोइराला चितवन क्षेत्र नम्बर ४ आउनुभएको थियो । त्यस समयमा चितवनमा पाँच वटा निर्वाचन क्षेत्र थियो ।

यहाँबाट विजयी भएपछि सभापति कोइराला प्रधानमन्त्री हुनुभएको थियो । अहिले यो निर्वाचन क्षेत्र नं. ३ मा पर्छ । दुई ठाउँमा निर्वाचित भएपछि कोइरालाले चितवन क्षेत्र नम्बर ४ छाड्नुभएको थियो । त्यसपछि भएको उपचुनावमा नेपाली कांग्रेसका रामकृष्ण घिमिरे विजयी हुनुभएको थियो । उपनिर्वाचनमा एमाले र कांग्रेसले आआफ्नै चुनाव चिह्नमा मतदान गरेका थिए । त्यसपछि भएको संसदीय निर्वाचनमा आफ्नो चुनाव चिह्नमा मतदान गर्न पाएका थिएनन् । नेपाली काँग्रेस चितवनका सचिब ध्रुव पोख्रेलले बाह्र वर्ष पछि नयाँ उर्जाका साथ चुनाबी मैदानमा रहेको काँग्रेसले रुख चिन्हमा मतदान गर्ने अबसर पाएको बताउनुभयो ।

विसं २०५६ मा चितवनमा चार वटा क्षेत्र थिए । वि. सं. २०६४ मा आउँदा पाँच वटा र वि. सं. २०७० मा पनि पाँच वटै कायम भयो । वि. सं. २०७४ मा तीन वटा क्षेत्र भए । तीन वटा क्षेत्र कायम भएपछि एमाले र तत्कालीन नेकपा (माओवादी) बिच एकता भयो र पार्टी नेकपा बन्यो । नेकपाबाट उम्मेदवार भएका पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित हुनुभएको थियो । प्रचण्डले राप्रपाका विक्रम पाण्डेलाई नौ हजार ३४१ मतान्तरले पराजित गर्नुभएको थियो । तत्कालिन समयमा पार्टी एकताका कारण नेकपा एमालेले दाहाललाई मतदान गरेको थियो ।

वि सं २०७९ को चुनावमा यस क्षेत्रमा राप्रपाका विक्रम पाण्डे विजयी हुनुभएको थियो । पाण्डेले आफ्ना निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भोजराज अधिकारीलाई नौ हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभएको थियो । अधिकारी कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो । पाण्डेले ३५ हजार ५५ मत ल्याउँदा अधिकारीले २५ हजार ८२२ मत ल्याउनुभएको थियो ।

यस क्षेत्रमा कांग्रेसबाट बागी उठ्नुभएका दिनेश कोइरालालाई एमालेले सघाउने निर्णय गरेको थियो । उहाँको निर्वाचन चिह्न माछा थियो । एमालेले मतदातालाई निर्देशन दिएर माछा चिह्नमा भोट हाल्न लगाएको थियो । कोइरालाको १२ हजार ५७ मत आएको थियो । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले तेस्रो स्थान प्राप्त गर्नुभएको थियो । उहाँले १४ हजार ८४२ मत ल्याउनुभएको थियो ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा कांग्रेस र एमाले दुवै पार्टीका उम्मेदवार रहनु भएको छ । कांग्रेसबाट पुराना नेता टेकप्रसाद गुरुङ र एमालेबाट युवानेता शङ्करराज थपलिया उम्मेदवार हुनुहुन्छ । कांग्रेस एमालेका दुवैको चुनाव चिह्न यस पटकको निर्वाचनमा रहेका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट रेनु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतम उम्मेदवार हुनुहुन्छ । राप्रपाबाट दिपक थापा (मगर) उम्मेदवार हुनुहुन्छ । यस क्षेत्रमा दल र स्वतन्त्र गरी २३ जना उम्मेदवार रहनुभएको छ । यस क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिका पर्दछ ।

यस क्षेत्रमा १ लाख ५५ हजार ३०९ जना मतदाता रहेका छन् । ती मध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरुले ६३ वटा स्थल र १७४ वटा केन्द्रबाट मतदान गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस !