खैरहनी: नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतनारायाण श्रेष्ठले चितवनको १ नम्बर क्षेत्र कांग्रेसको गढका रुपमा स्थापित गर्नेगरी लाग्न थारु समुदायलाई आग्रह गरेका छन् ।
नेपाल थारु संघ चितवन क्षेत्र नं १ ले आयोजना गरेको बृहत् थारु भेला तथा उमेदवार भेटघाट कार्यक्रममा बोल्दै उनले थारु र कांग्रेसको सम्बन्ध पुरानो रहेको भन्दै चितवनमा थारु अगुवाले कांग्रेसको नेतृत्व गरिसकेको र मेयर र सांसद् बन्न सक्ने थुप्रै महिला र युवाहरु रहेकाले बदलिएको कांग्रेसले सम्बोधन गर्ने बताए ।
बदलिएको कांग्रेसले वडादेखि सांसद्सम्म थारु समुदायलाई अवसर प्रदान गर्ने बताउँदै यसपटक राजेन्द्रप्रसाद बुर्लाकोटीलाई चुनाव जिताउन आग्रह गरे ।
चितवन १ का प्रतिनिधिसभा सदस्य उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले आफू सदनमा गएपछि निःशुल्क औषधि उपचारको ग्यारेन्टी गर्ने बताए । कांग्रेसले ‘भिजन टेन’ नारामा आधारित प्रतिज्ञापत्र सार्वजनिक गरेको बताउँदै कांग्रेसले नै देशलाई समृद्धिको दिशामा लैजाने विश्वास व्यक्त गरे ।
सम्मानित भएर बाँच्न पाउने नेपाल, सपना देख्न सक्ने नेपाल, सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल, पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल, ओखती र ओत दिने नेपाल, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल, बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल, मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल र समुन्नतिमा लम्किने नेपाल निर्माणका लागि कांग्रेसलाई जिताउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा वरिष्ठ थारु नेता राजेन्द्रकुमार चौधरी, चन्द्रविक्रम चौधरी, कार्यक्रमका सभापति मनोज चौधरी, थारु महिला नेतृ चन्द्राकुमारी चौधरी, बबिताकुमारी चौधरी, जोखा चौधरी, टिकेन्द्र चौधरीलगायतले थारु संघ र समग्र थारु समुदायले कांग्रेस उमेदवार राजेन्द्र बुर्लाकोटीलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस !