चितवन: राष्ट्रियस्तरीय प्राविधिक कार्यक्रम “युनाइटेड टेक फ्युजन २०८२” माघ १२ र १३ गते चितवनमा आयोजना हुने भएको छ। युनाइटेड टेक क्लबको आयोजना तथा युनाइटेड टेक्निकल कलेजको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो।

सिभिल, कम्प्युटर, सूचना प्रविधि (आईटी), विद्युत तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको संयुक्त पहलमा गठन गरिएको युनाइटेड टेक क्लबले यसअघि राष्ट्रियस्तरका ह्याकाथन तथा विभिन्न प्रविधिमूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ। साथै कलेजभित्र विविध तालिम र कार्यशालाहरू पनि आयोजना गर्दै आएको छ। यस वर्ष आयोजना हुन लागेको युनाइटेड टेक फ्युजन २०८२ ले देशभरका विद्यार्थी तथा प्रविधिप्रेमीहरूलाई नवप्रवर्तन, सिर्जनशीलता र प्राविधिक सीप प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।

कार्यक्रमका मुख्य आकर्षणका रूपमा प्रोजेक्ट प्रदर्शन (प्रोजेक्ट प्रदर्शनी) र रोमाञ्चक रोबो रेस प्रतियोगिता रहनेछन्। कार्यक्रम संयोजक रिकम रिजालका अनुसार, “युनाइटेड टेक फ्युजन २०८२ ले विद्यार्थीहरूलाई आफ्ना सिर्जनात्मक कार्यलाई व्यवहारिक परियोजनामा रूपान्तरण गर्ने राष्ट्रियस्तरीय प्लेटफर्म प्रदान गर्नेछ।” कार्यक्रमअन्तर्गत कुल रु ६०,००० बराबरको पुरस्कार राशि राखिएको छ। प्रोजेक्ट प्रदर्शनतर्फ रु ३५,००० पुरस्कार व्यवस्था गरिएको छ, जसअन्तर्गत उत्कृष्ट प्रोजेक्टतर्फ दुई जना विजेतालाई जनही रु १५,०००, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने पिपुल्स च्वाइस अवार्ड तर्फ रु ५,००० तथा मेडल प्रदान गरिनेछ। त्यसैगरी रोबो रेस प्रतियोगितातर्फ रु २५,००० पुरस्कार राशि तोकिएको छ।

प्रथम हुनेले रु १५,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय हुनेलाई रु १०,०००, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। कार्यक्रमको दर्ता प्रक्रिया खुला भइसकेको छ। प्रविधि र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यो कार्यक्रम चितवनकै एक महत्वपूर्ण राष्ट्रियस्तरीय प्राविधिक उत्सव बन्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस !