चितवनः प्रतिनिधि सभा निर्वाचन २०८२ को मिति नजिकिदैं जाँदा चितवन राष्ट्रिय निकुञ्ज भित्र चोरि शिकारी हुन सक्ने भन्दै आफ्नो तदारुपता बढाएको छ । निर्बाचनका समयमा नयाँ मानिसहरुको आवतजावत वढ्ने र चोरी शिकारी हुन सक्ने भएकाले उच्च सतर्कता अपनाईएको हो ।

निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार अहिले स्थानीय, सरोकारवाला निकायहरुसंगको सहकार्यमा सुरक्षा व्यवस्था मिलाईएको छ । उहाँले भन्नुभयो “निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज प्रशासनले आन्तरिक तथा बाह्य सुरक्षाको व्यवस्था गरेको छ ।” निर्वाचन लागे पछि चोरी शिकारीको खतरा बढ्ने भएकाले निकुञ्जले त्यही अनुसार व्यवस्थापन गरेको उहाँले बताउनुभयो । निकुञ्ज क्षेत्रको कोर इलाका भित्र र मध्यवर्ती एबं आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था बलियो वनाईएको छ । उहाँका अनुसार चोरी शिकारी नियन्त्रण युवा जागरण अभियान, मध्यवर्ती सामुदायीक वनका पदाधिकारी तथा कर्मचारीहरु र स्थानीयलाई निर्वाचनको समयमा सजग हुन आग्रह गरिएको छ ।

उहाँले भन्नुभयो “प्रतिनिधि सभा निर्वाचनको समयमा निकुञ्ज सुरक्षाका लागि हामी तयार छौ ।” निकुञ्ज भित्र र आसपासका क्षेत्रहरुमा गस्ति वढाउने, एम्बुसिङ्, स्विपिङ् लगाएतका कामहरुलाई निरन्तर कायम राखिने छ । ९५२ दशमलब ६३ बर्ग किलोमिटरमा फैलिएको निकुञ्जमा २२ वटा मध्यवर्ती उपभोक्ता समितिहरु रहेका छन् । निकुञ्ज भित्र स्थायी ५७ वटा र अस्थायी ३ वटा पोष्टहरु रहेका छन् । उहाँले भन्नुभयो “सबै पोष्टहरुलाई उच्च सतर्कमा रहन भनिएको छ । कर्मचारीहरु पनि सोही अनुसार परिचालन गरिएको छ ।”

पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष साजन कुमार महतो निर्वाचन नजिकिय संगै उपभोक्ता समितिहरुले समेत उच्च सतर्कता अपनाएको बताउनुहुन्छ । निर्वाचनको समयमा नकारात्मक सोच राखेका व्यक्तिहरु सलवलाउन सक्ने भएकाले सबै उपभोक्ता सहितिहरुले आ–आफ्नो ठाउँबाट चनाखो भएर काम गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “चोरी शिकारी हुन सक्छ की भनेर निगरानी वढाईएको छ । चनाखो रहन सबै उपभोक्ताहरुलाई आग्रह गरिएको छ ।” उपभोक्ता समितिहरु बन्यजन्तु संरक्षणका लागि सधै एक भएर काम गर्दै आएको उहाँको भनाई छ ।

अहिले निकुञ्ज क्षेत्रमा रहेका मध्यवर्ती उपभोक्ता समितिहरुको निर्वाचन पनि भईराखेकाले केही वढी सक्रियता बढेको छ भने संरक्षण शिक्षाका बारेमा समेत ज्ञान दिईदैं आईएका छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त निर्वाचनको समयमा सबैको ध्यान निर्बाचन तर्फ केन्द्रीत हुँदा चोरी शिकार हुन सक्ने भएकाले पूर्ब तयारी स्वरुप कडाईका साथ काम गरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामी सधैं चनाखो अबस्थामा रहन्छौ । यतिवेला थप चनाखो वनेका छौ ।”

प्रतिक्रिया दिनुहोस !