काइयी नेपालले आफ्ना सवारी साधनहरू अब नारायणगढ, भरतपुरमा उपलब्ध भएको घोषणा गरेको छ। यससँगै मध्य नेपालको बजारमा काइयी ब्रान्डको उपस्थिती अझ सुदृढ भएको छ। गो अटोमोबाइल्स प्रा.लि.को पहल तथा युरो मोटर्स भरतपुरको समन्वयमा यो उपलब्धता सम्भव भएको हो।
नारायणगढमा काइयीको उपलब्धताले चितवन तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई लक्षित गर्दै ब्रान्डको विस्तार रणनीतिमा महत्वपूर्ण उपलब्धि थपेको छ। यससँगै, ग्राहकहरूले काइयीको अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन हुने विशेष सुविधा केन्द्रमार्फत सवारी साधन अवलोकन गर्न, व्यावसायिक बिक्री परामर्श लिन तथा भरपर्दो ग्राहक सेवा प्राप्त गर्न सक्नेछन्।
यस अवसरलाई स्मरणीय बनाउन तथा ग्राहकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न काइयी नेपालले शनिबार बिहान भरतपुरस्थित चितवन मिडटाउन होटलमा विशेष एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ। उक्त क्याम्प विद्युतीय सवारी साधनप्रति रुचि राख्ने तथा आधुनिक मोबिलिटी समाधानतर्फ अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ।
युरो मोटर्सका निर्देशक विकास वर्माका अनुसार क्याम्पका क्रममा ग्राहकहरूले कुनै पनि ब्रान्डका सवारी साधनहरू काइयी ब्रान्डका सवारी साधनसँग साट्न सक्नेछन्। कार्यक्रममा काइयीका तीनवटा मोडेल प्रदर्शन गरिने जानकारी उनले दिए। साथै, म्याक्सस (MAXUS) ब्रान्डको हेभी इलेक्ट्रिक पिकअप सवारी साधन पनि सोही अवसरमा औपचारिक रूपमा सार्वजनिक गरिनेछ।
एक्सचेन्ज क्याम्पका दौरान ग्राहकहरूले काइयीका सवारी साधनहरूको टेस्ट ड्राइभ, बुकिङ, खरिद तथा एक्सचेन्ज गर्न सक्नेछन् भने विशेष छुट र आकर्षक अफरहरू पनि प्राप्त गर्न सक्नेछन्। क्याम्प बिहान १०:३० बजेबाट सुरु हुने र अधिकतम लाभ लिन सबै ग्राहकहरूलाई सहभागी हुन कम्पनीले आग्रह गरेको छ।
काइयी ब्रान्डका सवारी साधनहरूले नेपालभर ग्राहकहरूको उल्लेखनीय रुचि प्राप्त गरिरहेका छन्। यसअघि सौराहामा सफलतापूर्वक एक्सचेन्ज क्याम्प आयोजना गरिएको थियो भने आइतबार कावासोतीमा पनि अर्को एक्सचेन्ज क्याम्प आयोजना हुने कम्पनीले जनाएको छ।
नारायणगढमा काइयीको उपलब्धता तथा ग्राहक–केन्द्रित एक्सचेन्ज क्याम्पजस्ता कार्यक्रममार्फत काइयी नेपालले नेपालको विकसित हुँदै गएको अटोमोबाइल बजारमा ग्राहक सन्तुष्टि, नवप्रवर्तन र दीर्घकालीन वृद्धिप्रति आफ्नो प्रतिबद्धता अझ मजबुत बनाउँदै लगेको छ।






