चितवन, २ माघः चितवनको भरतपुरस्थित चितवन एक्सपो सेन्टरमा आजबाट आठौँ नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो–२०८२ सुरु भएको छ । तीन दिनसम्म चल्ने एक्सपोमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि सम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ ।
प्रदर्शनीको उद्घाटन आज बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले गर्नुभयो । सो अवसरमा उहाँले कृषिजन्य व्यवसायिक उत्पादनका लागि विदेशी कृषि प्रविधिको नेपालमा पहुँच र प्रयोग बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । मन्त्री पौडेलले विदेशका आधुनिक प्रविधि नेपाल भित्र्याएर उत्पादन वृद्धि गर्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, “यस्ता एक्स्पोबाट ज्ञान र प्रविधि सिकेर त्यसको व्यवहारिक प्रयोग बढाउनुपर्छ, जसले कृषकलाई व्यवसायिक तथा निर्यातमुखी कृषि प्रणालीतर्फ अघि बढाउन मद्दत गर्छ ।” कृषकले निर्वाहमुखीभन्दा व्यवसायिक उत्पादनमा जोड दिन कृषि प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
स्टल अवलोकनका क्रममा प्रदर्शकहरूले मन्त्री पौडेलसमक्ष सरकारी नीति, भन्सार तथा करसम्बन्धी समस्या अवगत गराएका थिए ।
विगतका वर्षझैँ यस वर्ष पनि प्रदर्शनीप्रति देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टल रहेका छन् ।
प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ–बिजन, कृषि तालिम तथा वित्तीय समाधानसम्बन्धी जानकारी प्राप्त गर्न सकिने आयोजक संस्था नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रबन्ध निर्देशक सृजल भट्टराईले जानकारी दिनुभयो ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीको प्रवद्र्धक संस्थाका रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ। त्यसैगरी राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन् ।
नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा भएको एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
यही अवसरमा भोलि शनिबार साल्ट ट्रेडिङ नेपालले रासायनिक मलको सन्तुलित प्रयोग विषयक सचेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।
साल्ट ट्रेडिङ नेपालका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झाले प्रदर्शनीमा सहभागी किसान तथा सरोकारवालालाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा सहभागीले रासायनिक मलको सही प्रयोगबारे व्यावहारिक जानकारी प्राप्त गर्नेछन् ।
अन्तरक्रिया कार्यक्रममा माटो व्यवस्थापन निर्देशनालयका पूर्व सहसचिव डा. हरि दवाडी र कृषि मन्त्रालयका पूर्व सचिव तथा मल विज्ञ भगवान खतिवडालगायतको सहभागिता रहने छ । कार्यक्रममा किसान तथा सहकारीका प्रतिनिधिलाई सचेतना प्रदान गर्नुका साथै खुला अन्तरक्रिया गरिने उहाँले बताउनुभयो ।
–––
((






