चितवनः चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना सकिएको छ । यही पुस २४, २५ र २६ गते (जनवरी ८, ९ र १० तारिख) जिल्लामा जलपंक्षी गणना गरिएको हो । नेपालमा हरेक वर्ष जनवरी ३ बाट १८ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ ।
नेपाल पक्षीविद् संघ बागमती प्रदेशका अध्यक्ष वासु विडारीका अनुसार चितवनको लोथर देखि गणना गरिएको हो । नदीहरुमा ताल तलैयामा चरा गणना गरिएको हो । गणनाका लागि ७० जना चरा विज्ञहरु सहभागी भएका थिए । उनीहरुले अहिले जलपंक्षीको प्रजाती छुट्याउने काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले अध्ययनको काम चलिरहेको छ । एक दुई दिनमा नतिजा आउँछ ।”
लोथर खोलाबाट, जिन्दगानीघाट, सौराहा, ढुङ्ग्रे खोला, कसरा पुल हुँदै राप्ती नदीमा चरा गणना गरिएको छ । नरायणी नदी, माडीको रिउ खोला, बाटुलीपोखरी, कुमाल ताल, टिकौली ताल, सत्रहजारी ताल र नहर क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन केन्द्र, बुढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभान सम्म गणना गरिएको हो ।

वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष बिजय गिरीका अनुसार राप्ती नदीको घडगाईबाट गोलाघाटसम्म, नारायणीको पूर्वी भङगला, नारायणीकै गाँजापुरबाट गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमा समेत गणना गरिएको छ । वर्ड एजुकेशन सोसाइटी, नेपाल पक्षीविद् संघ, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनको सहकार्यमा गणना गर्न गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पैदल, डुङ्गाको साहायता र गाडीबाट चरा गणना गरिएको हो ।

बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकडर लगायतको प्रयोग गरी चराको गणना गरिएको हो । गत वर्ष चितवनमा ५३ प्रजातिका आगन्तुक जलपंक्षी भेटीएका थिए । संघका अध्यक्ष विडारीका अनुसार देशभर ९०४ प्रजातिका चरा पाईन्छन् भने चितवनमा ६६२ प्रजातिका चरा पाईन्छन् । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो । यो वर्ष ६० औं पटक गणना गरिदैं हो ।

नेपालमा जलपक्षी ठूलो सङ्ख्यामा चीनबाट आउने गर्दछन् । मङ्गोलिया, रुसको दक्षिणी भाग, साइबेरीया, मध्य एशियालगायतका ठाउँबाट धेरै चरा आउँछन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने उहाँले जानकारी दिनुभयो । चिसो छल्नका लागि चराहरु यहाँ आउने गरेको विडारीले बताउनुभयो । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !