नारायणगढ (चितवन), २७ पुसः थारु नयाँ वर्षको अवसरमा थारु समुदायको मौलिक संस्कृति, परम्परा तथा खानाका परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको खिचरा महोत्सव को ११औँ संस्करण आगामी पुस २९ गतेदेखि माघ १० गतेसम्म चितवनको खैरहनी नगरपालिका–५, गौरचन मा सञ्चालन हुने भएको छ । महोत्सव स्थलमै आज आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले सो जानकारी गराएका हुन् ।
२०७० सालदेखि थारु कल्याणकारीणी सभा क्षेत्र नं. ७, चितवनको आयोजनामा खैरहनीका विभिन्न स्थानमा हुँदै आएको उक्त महोत्सव यसपटक गौरचनमा आयोजना गर्न लागिएको मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको प्रमुख उद्देश्य थारु कल्याणकारीणी सभाको सुदृढीकरण, थारु संस्कृति संरक्षण तथा थारु खानाका परिकारहरूको प्रवद्र्धन गर्नु रहेको छ ।
महोत्सवमा थारु आर्ट ग्यालरी, बौद्धनाथ गुम्बा र ओपेरा हाउस निर्माणका नमूना प्रस्तुति सहित कृषि तथा उपज प्रदर्शनी पनि गरिनेछ । संयोजक चौधरीका अनुसार उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन लाई लक्ष्य गरी आयोजना हुने महोत्सवमा १५० वटा स्टल रहनेछन् । तीमध्ये थारु खानाका परिकारसहित अन्य जातजातिका खानाका २४ वटा स्टल रहनेछन् । महोत्सव अवधिभर थारु सांस्कृतिक कार्यक्रमहरू विशेष आकर्षणका रूपमा रहनेछन् भने राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहने उहाँले बताउनुभयो ।
थारु समुदायको नयाँ वर्षको अवसरमा खाइने विशेष परिकार खिचरा भएको उल्लेख गर्दै संयोजक चौधरीले भन्नुभयो, “खिचरा थारु समुदायले नयाँ वर्षको अवसरमा खाने विशेष परिकार हो । पुस महिनामा पकाएर माघमा खाने चलन रहेको यो परम्परागत भोजनमा अनदीको चामल प्रयोग गरिन्छ । पुस मसान्तमा पकाई माघ १ गते डल्लो बनाएर खाने तथा अघिल्लो दिन मारेको माछासँगै खाने चलन थारु समुदायमा प्राचीनकालदेखि चलिआएको छ ।”
यो परम्परा हराउँदै जान थालेको उल्लेख गर्दै उहाँले यसको जगेर्नाका लागि महोत्सवमा विशेष रूपमा खिचरा तथा माछाको प्रवद्र्धन गरिने जानकारी दिनुभयो ।
महोत्सवका संरक्षकका रूपमा खैरहनी नगरपालिका र थारु कल्याणकारीणी सभा चितवन रहेका छन् ।
–––






