चितवनः चितवन राष्ट्रिय निकुञ्जमा वाघ गणनाका लागि राखिएका सात वटा क्यामेरामा क्षती पुगेको छ । पुस ३ गते देखि सुरु गरिएको बाघ गणनाका क्रममा राखिएका पाँच वटा क्यामेरा हराएका छन् भने दुई वटा क्यामेरा हात्तीले फुटाएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार बाघ गणनामा राखिएका क्यामेरा मध्ये तीन वटा थुम्सि क्षेत्रमा र दुई वटा तमासपुर क्षेत्रमा राखिएका क्यामेरा हराएका हुन । टाईगर टप्स क्षेत्रमारहेका दुई वटा क्यामेर हात्तीले फुटाएको उहाँले बताउनुभयो । २८६ ग्रिडमा क्यामेरा राखेर बाघ गणना गरिएको थियो ।
मगरका अनुसार पहिलो भागको गणनाको काम सकेर क्यामेरा उठाउने क्रममा तीन स्थानमा राखिएका क्यामेरा हराएको र हात्तीले क्षती पु¥याएको हो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा व्लक वनाएर बाघ गणना सुरु गरिएको छ । उहाँका अनुसार त्रिवेणी, अमलटारी, कसरा, हुदैं बरणडाभार क्षेत्रलाई पहिलो भाग वनाएर गणना गरिएको थियो ।
अहिले देस्रो भागमा बाघ गणनाको कार्य सुरु गरिएको छ । दोस्रो भागमा १३ वटा क्याम्प वनाएर गणकहरु खटिएका छन् । यस भाग अन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर र हर्दासम्म, बोटे सिमारा, स्वमेश्वर, वगई, अम्बुवा हुँदै शिकारी बास सम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको छ । सो भागलाई ३३६ ग्रिडमा बिभाजन गरेर बाघ गणना गरिएको छ । गणनामा १५० जना गणक खटिएका छन् । थापाका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखेर वाघ गणना गरिने छ ।
चितवन पर्सा व्लकमा ९५८ वटा ग्रिड वनाएर बाघ गणना गरिदैं छ । यस अघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो ।






