चितवन), २३ पुसः चितवनको खैरहनी इलाका प्रहरी कार्यालयले नयाँ सुविधायुक्त भवनबाट सेवा सुरु गरेको छ । बागमती प्रदेश सरकारको रु पाँच करोड ८५ लाख लागतमा निर्माण सम्पन्न उक्त भवनमा कार्यालय, ब्यारेक तथा मेश भवन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीका अनुसार आरसीसी फ्रेम स्ट्रक्चरमा निर्माण गरिएको भवन एक हजार ११४ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । कार्यालय र ब्यारेक भवन तीनतले संरचनामा निर्माण गरिएका छन्, जसमा आधुनिक तथा आधारभूत सुविधा उपलब्ध छन् ।

एसपी पुरीका अनुसार इलाका प्रहरी कार्यालय खैरहनी वि.सं. २०४७ सालमा ‘ख’ श्रेणीको इलाका प्रहरी कार्यालयका रूपमा १८ जना दरबन्दीसहित स्थापना भएको हो । वि.सं. २०६४ सालमा ‘क’ श्रेणीमा स्तरोन्नति भई २९ जना प्रहरी दरबन्दी कायम गरिएको थियो । वि.सं. २०६९ सालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र थप भएसँगै चार जना प्रहरी दरबन्दी थपिएको उहाँले जानकारी दिनुभयो । हाल कार्यालयमा ३३ जना प्रहरी जनशक्ति कार्यरत छन् ।

खैरहनी इलाका प्रहरी कार्यालयले चितवनको पूर्वी भेगमा शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै एसपी पुरीले नयाँ भवन प्राप्त भएसँगै भौतिक संरचनाका हिसाबले प्रहरी संगठन थप सुदृढ भएको बताउनुभयो । नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न जिल्ला प्रहरी कार्यालय चितवन सचेत, प्रतिबद्ध र जिम्मेवार भएर कार्यरत रहेको उहाँले स्पष्ट पार्नुभयो । जिल्ला प्रहरी कार्यालय चितवनअन्तर्गत ७४ स्थानमा प्रहरी युनिट सञ्चालनमा रहेका छन्, जसमध्ये ३६ स्थानमा अस्थायी प्रहरी युनिट रहेका छन् ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरुण पौडेलले प्रदेशभर करिब छ हजार प्रहरी जनशक्ति कार्यरत रहेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशमा रहेका ५२४ प्रहरी इकाइमध्ये ३३१ स्थायी र १९४ अस्थायी छन् ।

डिआइजी पौडेलले हालसम्म २०९ प्रहरी इकाइका भवन निर्माण सम्पन्न भइसकेका र १२३ स्थायी भवन निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो । प्रदेश स्थापना पश्चात् भौतिक पूर्वाधार व्यवस्थापनका लागि एक अर्ब रुपैयाँभन्दा बढी लगानीमा ७४ वटा प्रहरी इकाइ निर्माण सम्पन्न भएका छन् । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा निर्माण गरिएको खैरहनी इलाका प्रहरी कार्यालय भवन पनि तीमध्ये एक रहेको उहाँले जानकारी दिनुभयो ।

नवनिर्मित इलाका प्रहरी कार्यालय खैरहनीको भवन पूर्ण रूपमा आधारभूत सुविधासम्पन्न रहेको उल्लेख गर्दै उहाँले यस कार्यालयबाट करिब ६८ हजार जनसंख्यालाई सुरक्षा सेवा प्रदान हुने विश्वास व्यक्त गर्नुभयो । उक्त भवनको उद्घाटन गत १६ पुसमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी र डिआइजी पौडेलको उपस्थितिमा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !