नारायणगढ (चितवन), २३ पुसः
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत कुमरोज मध्यवर्ती सामुदायिक वन क्षेत्रमा अन्दाजी ३५ वर्षको भाले गैँडा मृत फेला परेको छ । मङ्गलबार दिउँसो १२ः१० बजे उक्त गैँडा मृत अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार मृत गैँडाको शरीरमा देखिएका घाउचोटको अवस्थाका आधारमा अर्को गैँडासँग जुध्दा मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । गैँडाको खाग र खुर भने सुरक्षित अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।
यससँगै चालु आर्थिक वर्षको साउन यतादेखि चितवन राष्ट्रिय निकुञ्जमा नौ वटा गैँडाको मृत्यु भइसकेको छ । गत आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा विभिन्न कारणले २८ वटा गैँडाको मृत्यु भएको थियो । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् ।






