चितवनः चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना यही पुस २४ र २५ गते (जनवरी ८ र ९ तारिख)मा गरिने भएको छ । नेपालमा हरेक वर्ष जनवरी ३ बाट १८ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । चितवन र नवलपरासीको त्रिवेणी सम्म एकै पटक चरा गणना गर्न लागिएको हो ।
नेपाल पक्षीविद् संघ बागमती प्रदेशका अध्यक्ष वासु विडारीका अनुसार चितवनको लोथर देखि गणना सुरु गरिने छ । पहिलो दिन नदीहरुमा गणना गरिने छ भने दोस्रो दिन ताल तलैयामा गणना गरिने छ । गणनाका लागि ७० जना चरा विज्ञहरु सहभागी हुने उहाँले जानकारी दिनुभयो । लोथर खोलाबाट, जिन्दगानीघाट, सौराहा, ढुङ्ग्रे खोला, कसरा पुल हुँदै राप्ती नदीमा चरा गणना गरिने छ भने नरायणी नदीमा पनि चरा गणना गरिने छ । यस्तै माडीको रिउ खोला, बाटुलीपोखरी, कुमाल, टिकौली, सत्रहजारी ताल र नहर क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन, बुढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभान सम्म गणना गरिने छ ।
वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष बिजय गिरीका अनुसार देशै भर जलपंक्षी गणना गरिदैं छ । राप्ती नदीको घडगाईबाट गोलाघाटसम्म, नारायणीको पूर्वी भङगला, नारायणीकै गाँजापुरबाट गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमा समेत गणना गरिने उहाँले जानकारी दिनुभयो ।
वर्ड एजुकेशन सोसाइटी, नेपाल पक्षीविद् संघ, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनको सहकार्यमा गणना गर्न लागिएको हो ।
बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकडरलगायतको प्रयोग गरी चराको गणना गरिने छ । गत वर्ष चितवनमा ५३ प्रजातिका आगन्तुक जलपंक्षी भेटीएका थिए । संघका अध्यक्ष विडारीका अनुसार देशभर ९०४ प्रजातिका चरा पाईन्छन् भने चितवनमा ६६२ प्रजातिका चरा पाईन्छन् । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो । यो वर्ष ६० औं पटक गणना गरिदैं छ ।
नेपालमा जलपक्षी ठूलो सङ्ख्यामा चीनबाट आउने गर्दछन् । मङ्गोलिया, रुसको दक्षिणी भाग, साइबेरीया, मध्य एशियालगायतका ठाउँबाट धेरै चरा आउँछन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने उहाँले जानकारी दिनुभयो । चिसो छल्नका लागि चराहरु यहाँ आउने गरेको विडारीले बताउनुभयो । नेपालमा मात्रै नभएर एशिया क्षेत्रमा नै यही समयमा चरा गणना गरिन्छ । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गर्ने गरिन्छ ।






