नारायणगढ (चितवन), १३ पुस ः मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनको सौराहामा आयोजना गरिएको १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आइतबार हात्तीका विविध गतिविधिसहित सम्पन्न भएको छ । महोत्सवको अन्तिम दिन हात्तीलाई विशेष पूजा गरी वनभोज खुवाइएको थियो।

हात्तीलाई कुनै पनि असर नपुग्ने दावी गरी सञ्चालन गरिएको महोत्सव हात्ती ¥यालीसहित सौराहा परिक्रमा गरेर सुरु भई पूजा र वनभोजसँगै समापन गरिएको हो । महोत्सवअन्तर्गत हात्ती ¥याली, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पेनाल्टी सुट प्रतियोगिता, हात्ती स्वास्थ्य परीक्षण शिविरलगायतका गतिविधि सम्पन्न भएको आयोजकले जनाएको छ ।

आइतबार आयोजित समापन समारोहमा विभिन्न प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुनेलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो । सो अवसरमा बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भरतकुमार केसीले हात्तीसम्बन्धी गतिविधि समेटिएको महोत्सवले सौराहालाई गौरवान्वित बनाएको बताउनुभयो । यसले स्थानीय पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्दै सौराहालाई राष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सौराहाका लागि पर्यटन व्यवसाय नै प्रमुख आयआर्जनको माध्यम हो । यहाँ विभिन्न खेलकुद तथा सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनको बिक्रीमार्फत आयआर्जन गर्न सकिन्छ ।” हात्ती पालन, जंगल सफारी, जल पर्यटन, जिप सफारी तथा हात्ती सफारीका कारण सौराहाले अन्तर्राष्ट्रिय ख्याति कमाएको उहाँले उल्लेख गर्नुभयो ।

आयोजक संस्था क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले हात्ती तथा पर्यटन महोत्सवको १९औँ संस्करण सफल भएको बताउँदै महोत्सव अवलोकन गर्न आएका स्वदेशी तथा विदेशी पर्यटकका कारण सौराहाका होटलहरू ९० प्रतिशतसम्म भरिएको जानकारी दिनुभयो । लामो समयपछि महोत्सवले चितवनको पर्यटन गतिविधिलाई चलायमान बनाएको उहाँको भनाइ थियो ।

संघका उपाध्यक्ष तथा महोत्सव संयोजक गुणराज थपलियाले हात्ती पीडा र खुसी महसुस गर्ने संवेदनशील जीव भएकाले रमाइलो वातावरणमा मात्र गतिविधि सञ्चालन गरी महोत्सव सम्पन्न गरिएको बताउनुभयो । संघका महासचिव महेश खनालले हात्ती महोत्सवप्रतिको बढ्दो चासोले यसको निरन्तरताका लागि पर्यटन व्यवसायी उत्साहित भएको बताउनुभयो । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा तथा रत्ननगर नगरपालिकाको संरक्षणमा सम्पन्न महोत्सवको मुख्य सहआयोजक युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था रहेको थियो । सहआयोजकमा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल, सौराहा रहेका थिए । आयोजक संस्थाले हरेक वर्ष यही समयमा हात्ती तथा पर्यटन महोत्सव आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !