चितवन, ११ पुस ः

चितवनमा पहिलो पटक जेष्ठ नागरिकका लागि डे केयर तथा आवास केन्द्र स्थापना गरिएको छ । राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आरोग्य केयर होम भरतपुरले भरतपुर महानगरपालिका–११, नौरंगेमा उक्त केन्द्र स्थापना गरेको हो ।

आज आयोजित उद्घाटन समारोहमा समाजसेवी तथा शिक्षा विद् टेकबहादुर थापाले केन्द्रको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले हाल नेपालमा बढ्दो वैदेशिक रोजगारीका कारण धेरै जेष्ठ नागरिकहरू एक्लो जीवन बिताउन बाध्य भएको उल्लेख गर्नुभयो । उहाँले जेष्ठ नागरिकहरू उपचार तथा हेरचाहमा समेत कठिनाइ भोगिरहेको अवस्थामा यस प्रकारका केयर होमहरूले पारिवारिक वातावरणसहित सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका–१२ का वडाध्यक्ष लेखराज पन्तले जेष्ठ नागरिकको सम्मान र संरक्षण राज्यको दायित्व भएको उल्लेख गर्दै सामूहिक स्तरमा सुरु गरिएको यस्तो सेवामूलक पहल प्रशंसनीय रहेको बताउनुभयो ।
केन्द्रका अध्यक्ष हिरामान महर्जनले जेष्ठ नागरिकको आवश्यकता महसुस गरी सामूहिक लगानीमा केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो ।

केन्द्रले प्रारम्भिक चरणमा १५ जना जेष्ठ नागरिकलाई आवासीय सेवा दिन सक्ने गरी सञ्चालन सुरु गरेको छ । यहाँ फिजियोथेरापीसहित विभिन्न स्वास्थ्य सेवा, मनोरञ्जनात्मक कार्यक्रम तथा सामाजिक क्रियाकलापहरू प्रदान गरिने केन्द्रका सूचना अधिकारी फडिन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य जेष्ठ नागरिकको स्वास्थ्य, मनोरञ्जन तथा सामाजिक सञ्जाललाई प्रोत्साहन गर्नु रहेको छ। यसले जेष्ठ नागरिकहरूलाई परिवार बाहिर पनि सामाजिक र मानसिक रूपमा सक्रिय रहन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

हाल दैनिक आधारमा सेवा दिइँदै आएको केन्द्रले भविष्यमा आवश्यकताअनुसार थप सेवा विस्तार गर्ने योजना समेत बनाएको जनाएको छ । केन्द्र ४५ जना शेयर सदस्यको लगानीमा स्थापना गरिएको हो । करिब २ करोड रुपैयाँको लगानीमा ५ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको यस केन्द्रले प्रारम्भिक चरणमा १५ बेड क्षमताबाट सेवा सुरु गरेको छ ।

केन्द्रमा हाल १५ जना कर्मचारी कार्यरत छन्, जसमध्ये ७ जना केयर गिभर रहेका छन् । आवासीय संरचनाअन्तर्गत १० वटा जनरल बेड र ५ वटा मेडिकल क्याबिनको व्यवस्था गरिएको छ । सम्पूर्ण भवन अपाङ्गमैत्री संरचना अनुसार निर्माण गरिएको न्यौपानेले जानकारी दिनुभयो ।

जेष्ठ नागरिकहरूको स्वास्थ्य सेवाका लागि एमडिजिपी डाक्टरबाट अनकल (इल–अबिि) सेवा समेत उपलब्ध गराइने केन्द्रले जनाएको छ।

उद्घाटन समारोहकै अवसरमा केन्द्रले ३० जना जेष्ठ नागरिकलाई सर्वोत्तम पिठोसहित सम्मान गरेको थियो।

प्रतिक्रिया दिनुहोस !