नारायणगढ व्यवसायको मूल हो, यसको अस्तित्व जोगाउनै पर्छ
भरतपुर (चितवन) — उद्योग र व्यवसाय केवल नाफाको विषय मात्र नभई रोजगारी सिर्जना, आत्मनिर्भरता र समृद्ध समाज निर्माणको आधार भएको उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदका उम्मेदवार सिरिस पन्तले बताउनुभएको छ।
चितवनका उद्योगी–व्यवसायीको साझा आवाजलाई एकताबद्ध गर्दै विद्यमान समस्याको समाधान र नयाँ अवसर सिर्जनामा सक्रिय भूमिका खेल्ने स्पष्ट दृष्टिकोणका साथ आफू उम्मेदवार बनेको पन्तको भनाइ छ।
नारायणगढ बजारको महत्व उजागर गर्दै पन्तले भन्नुभयो,
“अब कुरा होइन, काम चाहिन्छ । आश्वासन होइन, परिणाम चाहिन्छ । आउनुहोस्, सबै मिलेर नारायणगढ बजार बचाउने अभियानमा हातेमालो गरौं । नारायणगढ हाम्रो व्यवसायिक मूल थलो हो, हाम्रो पहिचान हो र देशको गहना हो ।”
उहाँले नारायणगढ चितवनको मात्रै नभई समग्र देशकै व्यवसायिक मूल केन्द्र भएको उल्लेख गर्दै यसको अस्तित्व जोगाउनु आजको अपरिहार्य आवश्यकता भएको बताउनुभयो। पछिल्लो समय पार्किङ अभाव, अव्यवस्थित व्यवस्थापन तथा नीतिगत समस्याका कारण व्यवसाय गम्भीर रूपमा प्रभावित भएको उल्लेख गर्दै पन्तले व्यवहारिक तथा दीर्घकालीन पार्किङ विकल्पको व्यवस्था गर्ने स्पष्ट योजना आफूले अघि सारेको जानकारी दिनुभयो।
“नारायणगढ बच्यो भने चितवनको व्यापार बच्छ,” भन्दै उहाँले व्यवसायमैत्री नीति निर्माण, उद्योगी–व्यवसायीको हकहितको संरक्षण, पारदर्शी तथा उत्तरदायी नेतृत्व र नयाँ पुस्ताका उद्यमीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
युवा ऊर्जा, व्यवसायिक सोच र परिवर्तनको अठोटका साथ अघि बढेका पन्तले पछिल्लो समय बढ्दो पोके बजारिकरणका कारण परम्परागत व्यवसायमा नकारात्मक असर परेको उल्लेख गर्दै बोल्ने तर काम नगर्ने प्रवृत्ति हावी भएको टिप्पणी गर्नुभयो। अब युवाले आफ्ना स्वार्थ मात्र होइन, सबै व्यवसायी बाँच्न पाउने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ छ।
अब समय आएको छ परिवर्तनका लागि मतदान गर्ने भन्दै पन्तले समृद्ध चितवन र सशक्त व्यवसायिक नेतृत्वका लागि उद्योग वाणिज्य संघ चितवनको नेतृत्वमा आफूलाई समर्थन गर्न उद्योगी–व्यवसायीलाई आह्वान गर्नुभयो।

प्रतिक्रिया दिनुहोस !