चितवन, ४ पुस :
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती र नारायणी नदीमा गरिएको नियमित अनुगमनका क्रममा यस वर्ष दुर्लभ तथा अति सङ्कटापन्न प्रजातिका ३६६ वटा घडियाल गोही अवलोकन गरिएको छ ।
निकुञ्जका अनुसार २०८२ मंसिर २१ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको अनुगमनमा राप्ती नदीमा २३१ र नारायणी नदीमा १३५ गरी कुल ३६६ वटा घडियाल गोही प्रत्यक्ष रूपमा देखिएका हुन् । गत वर्ष दुवै नदी प्रणालीमा ३५२ वटा घडियाल गोही गणना गरिएको थियो । सो क्रममा राप्ती नदीमा २०६ र नारायणी नदीमा १४६ वटा गोही भेटिएका थिए । अघिल्लो वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा १५२ र नारायणीमा ११३ वटा गोही भेटिएका थिए ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यस वर्ष राप्ती नदीमा सात र नारायणी नदीमा दुई गरी जम्मा नौ वटा भाले घडियाल गोही देखिएका छन् । गत वर्ष राप्तीमा दुई र नारायणीमा तीन गरी पाँच वटा भाले भेटिएका थिए भने अघिल्लो वर्ष राप्ती र नारायणीमा तीन–तीन वटा भाले भेटिएका थिए । भाले घडियालको सङ्ख्या बढ्नु संरक्षण प्रयासको सकारात्मक परिणाम भएको उहाँले बताउनुभयो ।
अनुगमनका क्रममा गोलाघाट क्षेत्रमा एक वटा सौँस (डल्फिन) पनि देखिएको जनाउँदै उहाँले यसलाई नदी प्रणालीको जैविक विविधता सुदृढ हुँदै गएको संकेतका रूपमा लिइएको बताउनुभयो । निकुञ्जको राप्ती नदी लोथरदेखि गोलाघाट हुँदै त्रिवेणीसम्म तथा नारायणी नदी गाँजीपुरदेखि गोलाघाटस्थित राप्ती नदीसँगको सङ्गमस्थलसम्म गणना गरिएको हो । गोही गणनाका लागि निकुञ्जका प्राविधिक, नेपाली सेना तथा बोटे समुदायका व्यक्तिहरू परिचालन गरिएको सूचना अधिकारी थापा मगरले बताउनुभयो ।
सन् १९७८ देखि निकुञ्जको कसरा क्षेत्रमा सञ्चालनमा रहेको घडियाल प्रजनन केन्द्रमार्फत घडियाल संरक्षण तथा प्राकृतिक बासस्थानमा पुनस्र्थापना कार्य हुँदै आएको छ । सन् १९९५ देखि हालसम्म देशका विभिन्न नदीमा २,१०५ वटा घडियाल गोही छाडिएको निकुञ्जले जनाएको छ । गत आर्थिक वर्षमा १३३ र चालु आर्थिक वर्षमा १५ वटा घडियाल नदीमा छाडिएका छन् ।
घडियाल गोही हाल नेपाल र भारतमा मात्र पाइने सङ्कटापन्न सरीसृप प्राणी हो । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थको उत्खनन, प्रदूषण तथा अवैध माछा मार्ने गतिविधिका कारण यसको प्राकृतिक बासस्थानमा चुनौती थपिँदै गएको निकुञ्जले जनाएको छ ।






