चितवनः जिल्लामा पालिएका गाई, भैसीमा खोरेको समस्या देखिएको छ । पूर्बी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।

पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २७ मा रहेको गाई फर्ममा यो रोग पुष्टि भएको हो । रत्ननगरमा रहेका गाई फर्महरुमा समेत खोरेतको लक्ष्यण देखिएको भए पनि प्रयोगशालाबाट नतिजा आएको छैन । भरतपुर महानगरपालिकाका गाईको नमुना मङ्सीर ११ गते खोरेत तथा सिमाबिहीन पशु रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा पठाईएको थियो । यसको नतिजा १६ गते आएको उहाँले बताउनुभयो ।

अहिले रोग देखिएको क्षेत्रमा खोरेत बिरुद्धको खोप लगाउने काम भईरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यस रोगका लागेको क्षेत्रमा खोप लगाउन काम भईरहेको छ । अब जिल्ला भरीनै अभियान चलाउने योजनामा कार्यालय रहेको छ ।” यो रोग भाइरसका कारण सर्ने गर्दछ । यो रोग लागेका गाई भैसीमा दुई देखि तीन दिन १०४ डिग्री ज्वरो आउने, जिव्रोको छाला जाने, गर्भवती भए गर्भ तुहिने, दुध उत्पादन घटाउने, खुट्टामा घाउ हुने, दाना पानी नखाने जस्ता लक्ष्याणहरु देखिने उहाँले जानकारी दिनुभयो । यो रोग बढि मात्रामा गाई, भैसी र बुंगुरमा देखिने गरेको उहाँले बताउनुभयो ।

जिल्लाका सबै पशु चौपायलाई खोरेत बिरुद्धको खोप लगाईएको भए पनि बाहिरबाट खरिद गरेर ल्याईएका पशुमा यो रोग देखिने गरेको उहाँले बताउनुभयो । बाहिरबाट खरिद गरेर ल्याएका पशुलाई २१ दिन सम्म क्वारेन्टाईनमा राखेर मात्र आफ्नो वथानमा मिसाउन उहाँले आग्रह गर्नुभयो । उहाँले थप्नुभयो “संक्रमिण देखिएका पशुहरुलाई समेत छुट्टै राखेर उपचार गर्नुपर्छ ।” जंगली जनावारहरुबाट पनि सर्न सक्ने भएकाले चरनका लागि लैजाने गाई भैसीमा बढी यसको संक्रमण देखिने उहाँले बताउनुभयो । हरेक फर्ममा जैबिक सुरक्षाको बिधि अपनाएर वर्षमा दुई पटक खोरेत बिरुद्धको खोप लगाउन कार्यालयले पशु पालन गर्ने किसानहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !