चितवनः अण्डाको लागत मूल्य बढेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्य अनुसार यस अघिको लागत मूल्यभन्दा बृद्धि भएको हो ।

लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यप्क्षक डा.अनन्त दाहालका अनुसार अहिले निकालिएको एउटा अण्डाको लागत मूल्य रु. १९.१२ पर्न आउँछ । विगतमा लागत मूल्य रु. १६.५६ रहेको थियो । तीन वर्ष अघि सरकारी र निजी क्षेत्रका भेटेरिनरियन चिकित्सकहरुले लागत मूल्य निकालेका थिए ।

दाहालका अनुसार दश हजार लेयर्स कुखुरा पालन गरी अण्डा उत्पादन गर्दा लाग्ने अण्डाको मूल्य निकालिएको हो । जस अनुसार चल्लाको मूल्य प्रतिगोटा रु. १५० का दरले रु. १५ लाख, तीन प्रकारका दाना, औषधि र भेक्सिन गरी रु.३ करोड ४८ लाख ८८ हजार ८०० खर्च निकालिएको छ । जसमा शुरुमा चल्लालाई खुवाउने एल वान दाना एउटा चल्लालाई दुई किलो, जसको मूल्य प्रतिकिलो रु. ६८ राखिएको छ । हुर्काउलो कुखुराका लागि ६ किलो (एल टु दाना), जसको सरदर मूल्य रु. ६१ राखिएको छ । १९ हप्तादेखि ८० हप्तासम्मको अण्डा दिने समयका लागि ४८ किलो एल थ्रि दाना एउटा कुखुराले खान्छ । जसको मूल्य रु.६०.५० पर्दछ । त्यस्तै औषधि र भेक्सिनको रु.११ लाख खर्च हुने दाहालले बताउनुभयो ।

त्यसैगरी मजदुर, भेटेरिनरी चिकित्सक, व्यवस्थापक, विद्युत, धानको भुस, खोरको मर्मत, खोरमा त्रिपाल, चल्ला तातो बनाउने ग्यास, अण्डाको क्रेट र डिजेल गरी रु. ६० लाख ५८ हजार ६९६ खर्चहुने दाहालले बताउनुभयो । जसमा मजदुर खर्च रु.२५ लाख २० हजार, भेटेरिनरी चिकित्सक (आंशिक) को रु. ४ लाख ५० हजार, व्यवस्थापकको रु. ७ लाख २० हजार, विद्युतको रु. २ लाख १३ हजार ९९६, धानको भुसको रु. ४ लाख, खोरको मर्मत रु. ३ लाख ५० हजार, पाँच वटा खोरमा त्रिपाल राख्दा रु. १ लाख ५० हजार, ग्यासको रु.४० हजार लागत निकालिएको छ । यस्तै अण्डाको क्रेटको रु. ८ लाख ९६ हजार र डिजल एवं जेनेरेटर खर्च रु. ३ लाख १९ हजार लागत निकालिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी अण्डा ढुवानीको मजदुर खर्च रु. ६ लाख ३० हजार, ढुवानी सवारीको रु. २ लाख ५० हजार र खोरको ह्रासकट्टी रु. १९ लाख ७२ हजार ५००, मजदुरको आवासको ह्रासकट्टी रु.२ लाख र बैंक व्याज रु. ४९ लाख ५९ हजार ७५० लागत निकालिएको छ । यी सबैको एकमुष्ट रु. ८० लाख १२ हजार २५० हुन आउँछ ।

सम्पूर्ण खर्च जोड्दा १० हजार कुखुरा पालन गरी अण्डा उत्पादन गर्दा रु.४ करोड ९८ लाख ५९ हजार हुन आउँने उहाँको भनाई छ । डा. दाहालले भन्नुभयो “१० हजार कुखुरा पालन गरी अण्डा उत्पादनपछि बजारसम्म पु¥याउँदा लाग्ने सम्पूर्ण खर्चलाई जोडेर लागत मूल्य निकालेका हौं ।” त्यसैको आधारमा प्रतिगोटा लागत मूल्य रु. १९.१२ पर्न आएको उहाँको भनाई छ । पालिएका सबै कुखुराले शतप्रतिशत अण्डा नदिने, अण्डा बजारसम्म पु¥याउँदा नोक्सान हुने जस्ता विषयवस्तु समेतको अध्ययन गरी लागत मूल्य निर्धारण गरिएको उहाँले बताउनुभयो ।

चल्ला राखेदेखि अण्डा दिई ८० हप्तासम्म पाल्दा दुई हजार कुखुरा मर्ने हुँदा आठ हजार कुखुराले २६ लाख ८८ हजार अण्डा पार्दछन् । जसको तीन प्रतिशत फुट्ने र बिक्री अयोग्य हुन्छ । दाहालका अनुसार जसबाट ८० हजार ६४० वटा अण्डा बिक्री गर्न अयोग्य हुन्छ । यसरी हेर्दा २६ लाख ७ हजार ३६० अण्डा बिक्री गर्न योग्य हुन्छन् ।

यसैगरी आम्दानीतर्फ अण्डा दिन छाडेपछि आठ हजार कुखुरा रु. २ सयका दरले बिक्री गर्दा रु.१६ लाख र तीन सय बोरा मल रु.२ सयका दरले बिक्री गर्दा रु. ६० हजार गरी कूल अन्य आम्दानी रु. १६ लाख ६० हजार हुने उहाँको भनाई छ ।

अध्ययन समितिको संयोजकमा सोही विश्वविद्यालयका प्रा.डा. रेवन्तकुमार भट्टराई, प्रा.डा. सुविर सिंह, सहप्राध्यापक डा. अनिलकुमार तिवारी र सदस्यसचिवमा उपप्राध्यापक डा. अनन्त दाहाल रहनु भएको छ ।

अध्ययन प्रतिवेदनमाथि सरोकारवालाहरुबीच अन्तक्र्रिया सम्पन्न भएको छ । मञ्चले आज एक विज्ञप्ति जारी गर्दै अध्ययन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी निर्णय गरेको जनाईएको छ । छलफलमा पन्छीरोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा. विजयकुमार श्रेष्ठ, पशु सेवा कार्यालय चितवनका प्रमुख डा.प्रभात न्यौपाने, भरतपुर महानगरपालिकाका बरिष्ठ कृषि अर्थ विज्ञ तेजेन्द्र पौडेल, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओली, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरी, चितवन उद्योग संघका उपाध्यक्ष गोपाल गैरे, चितवन चेम्बर अर्फ कमर्सका कोषाध्यक्ष प्रकाश श्रेष्ठ लगायत पोल्ट्रीसँग सरोकार राख्ने संघ संस्थाका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

नेपाल कुखुरा व्यवसायी मञ्चले अण्डाको लागत मूल्य निर्धारणका लागि गठित समितिले अण्डा उत्पादनका लागि लाग्ने विभिन्न खर्चहरुको विश्लेषण गरी वर्तमान अवस्थामा अण्डाको प्रतिगोटा उत्पान लागत रु.१९.१२ कायम भएकाले उक्त लागत मूल्यलाई समर्थन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाईएको छ । सो मूल्यलाई जिल्ला पशु सेवा कार्यालय हुँदै कृषि तथा पशुपछी विकास मन्त्रालय पठाई अनुमोदन गराउने निर्णय भएको संघका अध्यक्ष रघुनाथ भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !